
अमेरिकाको हार्वर्ड विश्वविद्यालयको रसायनशास्त्र विभागका पूर्व प्रमुख चार्ल्स लाइबरलाई चीनद्वारा सञ्चालित भर्ती कार्यक्रमसँगको सम्बन्ध लुकाएकोमा दोषी ठहर गरिएको छ । यस घटनाले धेरैजनाको ध्यान आकर्षित गरेको छ ।
यसरी चिनियाँ कार्यक्रमसँग सम्बन्ध राख्नु अपराध हैन तर लाइबरलाई अधिकारीहरूसमक्ष झूटो बयान दिएको, गलत करदाखिला गराएको र चीनमा रहेको बैंक खाताको जानकारी नदिएकोमा कसूरदार ठहर गरिएको छ ।
तत्कालीन ट्रम्प प्रशासनले चाइना इनिसिएटिभ नामक अभियान शुरू गरेपछि सन् २०२० मा लाइबर पक्राउ परेका थिए । उक्त कदममार्फत अमेरिकी सरकारले फेडरल ब्युरो अफ इन्भेस्टिगेसनलाई हतियार बनाएर अमेरिकाका विद्वान र वैज्ञानिकहरूलाई तारो बनाउन खोजेको हो । ती वैज्ञानिकहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा गुप्तचरी गर्न सक्ने जोखिम रहेको सरकारको आकलन छ । उनीहरूलाई चीनसँगको सानतिनो र वैध सम्पर्क राख्दा समेत अभियोजन गर्ने गरिएको छ ।
लाइबर गोरा अमेरिकी हुन् । तर चाइना इनिसिएटिभले चिनियाँ मूलका अमेरिकी विद्वानहरूको आक्रामक प्रोफाइल तयार पारेको अनि मक्कार्थीको जस्तो चरित्र देखाउँदै कम्युनिस्टविरोधी त्रास फैलाउँदै वैध अनुसन्धान र विद्वत् कार्यमा क्षति पुर्याएको भन्दै व्यापक आलोचना गरिएको छ ।
फाइनान्सियल टाइम्सको चिनियाँ संस्करणका प्रधानसम्पादक वाङ फङले यस घटनाक्रमलाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरे । उनले लेखे, ‘अमेरिकामा कमै मात्र चिनियाँ अमेरिकी प्राज्ञिकहरूले सुरक्षित अनुभव गर्नेछन् ।’
चीनसँग सम्बन्धित सबै कुराले हिजोआज अमेरिकामा पागलपन, उन्माद र विवेकहीनता छाउने गरेको छ । चीनका मानिस वा प्राविधिक उत्पादन सबैलाई अमेरिकाले गुप्तचरीको स्रोत मान्ने गरेको छ जुन शीतयुद्धको सोच हो ।
चीनले विज्ञान तथा महत्त्वपूर्ण प्रविधिको क्षेत्रमा अमेरिकालाई उछिन्ला भन्ने चिन्ता नै यस पागलपनको मुख्य कारण हो । चीनले प्रविधि चोरेर नै प्रगति गरिरहेको हो भन्ने गलत तथा जातिभेदी अनुमानका साथ अमेरिकाले आक्रमण गरिरहेको हो ।
यही अवसरवादी र गलत मनसायको शंकामार्फत सबै कुरा हेर्ने गरिएको छ । चिनियाँ विद्यार्थीहरूलाई कम्युनिस्ट पार्टीले जासूसी र चोरी गर्न पठाएको आरोप ट्रम्पका परराष्ट्रमन्त्री माइक पम्पेओले एकपटक लगाएका थिए । अमेरिकालाई बेचिएका चीनमा बनेका भूमिगत (सबवे) ट्रेनलाई अमेरिकी सिनेटरहरूले जासूसी ट्रेन नाम दिएका थिए ।
त्यसैगरी प्रत्येक चिनियाँ प्रविधि कम्पनीमाथि जासूसीको आरोप लगाइएको छ, चाहे त्यसमा प्रमाण होस् कि नहोस् । मानवअधिकार उल्लंघनको कार्डले काम नगरेमा राष्ट्रिय सुरक्षामाथिको खतराको कार्ड खेल्ने गरिएको छ अनि त्यसैका आधारमा चिनियाँ कम्पनीहरूमाथि लगाइने प्रतिबन्धलाई जायज ठहर्याउने गरिएको छ ।
तर सामान्य शंकाको भरमा विद्वानहरूलाई तारो बनाउने काम धेरै खतरनाक छ किनकि यसको विनाशकारी मानवीय असर पर्छ । यो वाशिङटनको गम्भीर त्रुटि र गलत आकलन हो । चीनसँग जोडिएका सबै प्राज्ञिक र विदल्वानहरूलाई कलंकित पार्ने तथा एउटै डालोमा राखेर उनीहरू सम्भावित जासूस तथा प्रविधि चोर भन्नु चरम पूर्वाग्रह तथा जातिभेदी कुरा हो । यो उनीहरूको क्षमताको अवमूल्यन पनि हो ।
चिनियाँ मूलका व्यक्तिका लागि अमेरिका शत्रुतापूर्ण समाज बनेमा उनीहरू अमेरिकी संस्थाबाट टाढिनेछन् । संसारको पहिलो अर्थतन्त्रका रूपमा अमेरिकाले गरीब मुलुकहरूबाट भइरहेको ब्रेन ड्रेनको फाइदा उठाइरहेको छ । विकासशील मुलुकका टाठा, प्रतिभाशाली र विभिन्न उपलब्धि हासिल गरेका मानिस प्राकृतिक रूपमा अवसर पाइने ठाउँतर्फ आकर्षित हुन्छन् । त्यसले गर्दा उनीहरू जन्मेको मुलुकलाई बेफाइदा हुन्छ र तिनको आर्थिक विकास सुस्त बन्छ ।
क्षमतावान मानिसहरूको आप्रवासनबाट इतिहासमै सबभन्दा धेरै फाइदा लिने मुलुक अमेरिका हो अनि चीनले पनि त्यसमा ठूलो योगदान गरेको छ । लाखौं चिनियाँ विद्यार्थीहरूले अमेरिकामा पढेको कम्युनिस्ट पार्टीले ठूलै षड्यन्त्र अन्तर्गत पठाएको भएर हैन, बरू उनीहरूलाई चीनमा उपलब्ध नभएको शैक्षिक सम्भावना अमेरिकामा पाइएर हो । राष्ट्रपति सी चिनपिङकी छोरी समेत हार्वर्ड विश्वविद्यालयमा पढेकी हुन् । त्यसले आफैं धेरै कुरा भन्छ, हैन र ?
सन् २००६ देखि २००८ सम्म विज्ञान र इन्जिनीयरिङमा विद्यावारिधि सकेका ९० प्रतिशत चिनियाँ विद्यार्थीहरू अमेरिकामै बस्न रुचाउनु आश्चर्यको कुरा हैन । चीनका विश्वविद्यालय र उद्योगहरू विश्व मञ्चमा थप प्रतिस्पर्धात्मक भइरहे पनि अमेरिका नै यसको सबभन्दा ठूलो लाभार्थी भएको कुरा तथ्यपरक छ ।
मक्कार्थीका नयाँ अनुयायीहरूले त्यो प्रवेशद्वार बन्द गर्न खोजिरहेका छन् । अहिले अमेरिकामा विज्ञान तथा प्रविधिको क्षेत्रमा स्नातकोत्तर अध्ययन गर्ने चिनियाँ विद्यार्थी हुनु भनेको अधिकारीहरूको निगरानीमा पर्नु र सताइनु हो अनि जासूसको आरोप खेप्नु हो ।
ट्रम्प प्रशासनले चिनियाँ विद्यार्थीहरूलाई उम्दा स्नातकोत्तर कोर्सहरूमा रोक्नका लागि विभिन्न बन्देज लगाएको थियो । लाइबर प्रकरणले त्यसलाई थप त्रासद बनाएको छ । अमेरिकामा विज्ञान विषयको प्राज्ञिक हुनु र चीनसँग कुनै किसिमको सम्बन्ध हुनु तपाईंलाई दोषी ठहर्याउन पर्याप्त छ, चाहे तपाईंले कुनै अवैध काम गर्नुभएको नहोस् । तर्साउन र अमेरिका आउनबाट रोक्नका लागि जानाजान यसो गरिएको हो । निर्दोष साबित नहुन्जेल दोषी मान्ने सोचको उपज हो यो । यस प्रक्रियामा निर्दोषलाई चोट पुर्याउने उद्देश्य लिइएको छ ।
चीनसँग जोडिएको प्राज्ञिकका लागि अमेरिका डरलाग्दो ठाउँ बनेको छ । उनीहरू अब कहाँ जान्छन् त ? अन्य धेरै पश्चिमी मुलुकहरूले पनि अवसर दिने गरेका छन् तर तीमध्ये धेरैजसोले त्यही मक्कार्थीवाला सोच पाल्ने गरेका छन् तर त्यसलाई धेरै अभिव्यक्त गर्दैनन् । जर्मनीको कम्पनीमा काम गर्ने एकजना वैज्ञानिकलाई आधारहीन शंका गरिएको छ र उनी चीन फर्कन चाहन्छन् ।
अमेरिकाको आत्मघाती गल्ती यही हो : कम्युनिस्टको हौवा पिटाएर उसले क्षमतावान मानिसहरूलाई देशबाट धपाउँदै चीन पठाएको छ । त्यसले गर्दा बेइजिङलाई उच्च प्रतिभाशाली कामदारहरू राख्न झन् सहज बनेको छ । अमेरिकाको दबाबका कारण चीनले प्रविधि क्षमतालाई बढाइरहेको बेलामा यसो भइरहेको हो ।
चीनसँगको शत्रुतालाई चर्काउने सुरमा अमेरिकाले आफूलाई एक्ल्याइरहेको र क्षति गरिरहेको ताजा उदाहरण यस पछिल्लो घटनाले प्रस्तुत गरेको छ । अमेरिकाले अन्य मुलुकका क्षमता तथा नवप्रवर्तनलाई आकर्षण गरेर आफूलाई विशिष्ट बनाइरहेको हो । ठूलो संख्यामा प्रतिभाशाली भारतीयहरू सिलिकन भ्यालीमा काम गरिरहेका छन् । तर अहिले अमेरिका संसारका सबभन्दा प्रतिबद्ध तथा शिक्षित मानिसहरू अर्थात् चिनियाँहरूका लागि ढोका बन्द गर्न खोज्दैछ ।
ट्रम्पले अपनाएको जातिभेदी सोचबाट संक्रमित यस नीतिलाई त्यतिखेर राम्ररी पर्गेलिएको थिएन किनकि चीनविरुद्ध कठोर देखिने चलन चलेको थियो । तर यसले अमेरिकालाई दीर्घकालीन रूपमा कथित प्रविधि चोरीभन्दा बढी घाटा लगाउने निश्चित छ ।
– आरटी डट्कममा प्रकाशित टम फाउडीको विश्लेषण लोकान्तरका लागि विन्देश दहालले भावानुवाद गरेका हुन् ।