
थाइल्यान्डमा माछापालनसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गीले आफ्नै गाउँमा माछापालन शुरू गरेका छन् ।
उर्लाबारी बजारबाट ७ किलोमिटर उत्तरमा रहेको आफ्नो पुख्र्यौली घर र खेतमा प्रतीकले अहिले पुमोरी एग्रो फार्म सञ्चालन गरिरहेका छन् ।
आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएका प्रतीकले मत्स्यपालन व्यवसाय रोजेका छन् । २०७६ सालमा शुरू गरेको व्यवसायमा २ करोड २५ लाख रुपैयाँ लगानी भइसकेको छ तर व्यवसायबाट अझै कमाइ शुरू भएको छैन ।
मत्स्यपालनसँगै बंगुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथ कुखुरापालन गरिरहेका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहेका छन् ।
उनले भने, ‘२०७६ साउनमा शुरू गरेकामा ८ महिना संरचना निर्माणमै बित्यो ।’ ३ बिघा ५ कठ्ठा जमिनलाई जस्तापाताले घेरेर उनले त्यसैभित्र १ बिघा क्षेत्रफलमा ३ वटा माछापोखरी निर्माण भएका छन् ।
उनले बायोफ्लक प्रविधिबाट माछापालन गरेका हुन् । माछाका भुरा उत्पादन गर्न अलग्गै पोखरी निर्माण गरेका छन् । सबै काम प्रारम्भिक चरणमा छन् ।
कोरोना महामारीले काम गर्न नसकिएको जानकारी दिँदै खड्गीले भने, ‘माछामा मात्रै केन्द्रित हुँदा व्यवसाय संकटमा पर्छ भन्ने डर लाग्यो । त्यसैले बंगुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथ समेत पाल्न थालेको हुँ ।’
खड्गीका अनुसार फार्ममा अहिले ३० माउ बंगुर र ६० वटा बुचाबुची (बच्चा) छन् । १५ वटा बाख्रा, खसी, २ माउ गाई, ३ वटा टर्की, २५ वटा कडकनाथ, ४० वटा स्थानीय जातका कुखुरा र ४० वटा हाँस छन् ।
फार्मलाई अझ विस्तार गर्ने योजना रहेकाले हाल मासु प्रयोजनका लागि उनले केही पनि बिक्री गरेका छैनन् । अबको १ वर्षमा पन्छी र बंगुरको संख्या दोब्बर बनाउने उनको योजना छ । थोरै परिणाममा काम गर्दा लगानी नउठ्ने भएकाले फार्म विस्तार गर्न लागेको खड्गीले बताए ।
शहरको प्रतिष्ठित व्यापारी घरानामा जन्मिए पनि प्रतीक गाउँमै रमाएका छन् । माछाका विषयमा नयाँ–नयाँ खोज गर्छन् । खड्गीले फार्म वरिपरि ठाउँ–ठाउँमा क्यामरा जडान गरेका छन् । कुनै कारणले फार्म छाडेर बाहिर जानुपर्दा पनि उनी मोबाइलबाटै फार्मको प्रत्यक्ष निगरानी गर्न सक्छन् ।
प्रतीकले भने, ‘सवा २ करोड रुपैयाँ पुँजी लगानी भएको व्यवसायलाई सामान्य काम गर्ने मजदुरको भरमा छोड्न मिल्दैन । ५ जनाले रोजगारी पाइरहेको फार्मले आगामी १ वर्षभित्र १५ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ । कुनै विपत्ति लागेन भने माघ/फागुनदेखि मासिक ३ लाख रुपैयाँ कमाइ गर्ने लक्ष्य हो,’ खड्गीले भने । गोरखापत्रमा खबर छ ।