२२ जेठ २०८३, शुक्रबार
उद्यम

व्यापारमा न्यानो दिइरहेको ‘जुम्रिया कपडा’ : हेला गरिएका उत्पादन डलरमा बिक्री

पुस १०, २०७८
व्यापारमा न्यानो दिइरहेको ‘जुम्रिया कपडा’ : हेला गरिएका उत्पादन डलरमा बिक्री

पहिला–पहिला पहाडी जिल्लामा मात्रै प्रयोग गरिने अल्लोका कपडा हिजोआज तराईका जिल्लामा पनि लगाउन थालिएको छ ।

संखुवासभा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा मात्रै पाइने अल्लोका कपडाको व्यापार गर्न भनेर सीता–अशोक दम्पती केही वर्षअघि धनकुटाबाट मोरङको विराटचोक आए । 

पत्नी सीता अठपरिया र पत्नी अशोक कुलुङले सुन्दरहरैचाको विराटचोकमा आएर पहाडी जिल्लाबाट अल्लोका कपडा किनेर व्यापार शुरू गरे । 

व्यापार शुरू गर्दा स्थानीयले अल्लोका कपडालाई जुम्रिया कपडा भनेर हेला गर्ने गरेका सीताले बताइन् । धनकुटामा विभिन्न कार्यक्रमको उद्घोषण गर्ने र स्थानीय रेडियोमा कार्यक्रम चलाउने गरेकाले सीतालाई त्यति गाह्रो भएन तर पति अशोकलाई नराम्रो व्यापार गरिएछ कि जस्तो लागेको उनले सम्झिइन् ।

व्यापार विस्तार गर्ने क्रममा कपडा सिलाएर बेच्ने योजना समेत बनेको उनले बनाइन् । सीतालाई कपडा सिउन सिक्दा पनि कुनै असर परेन, किनभने जतासुकै महिलाका लागि सिलाइकटाई सेन्टर खुलेका थिए । उनले विराटचोकमा सिलाइ सिकिन् तर अशोक पुरुष भएकाले उनलाई सिलाइ सिकाउन कोही तयार भएनन् ।

‘सिलाइ महिलालाई मात्रै सिकाइन्थ्यो, पुरुषलाई सिकाइँदैनथ्यो,’ अशोकले भने, ‘सिकाइ सिक्न भारतको दार्जलिङसम्म गएँ, त्यहाँ पनि सिक्न पाइनँ । छोरा मान्छेले सिलाइबुनाई गर्नु हुँदैन भनेर कसैले सिकाएनन् । भारतसम्म जाँदा पनि सिक्न नपाएपछि आफैंले मेहनत गरेर सिकें ।’

हाल उनले आफैंले कपडाको डिजाइन समेत निकाल्ने गरेका छन् । पहिला सिलाउँदै जाँदा धेरै कपडा बिग्रिएपछि व्यापार छाडेर विदेश जाने सोच समेत बनाएको उनले बताए । 

उनी भन्छन्, ‘अहिले मलाई त्यहीँ जुम्रिया कपडाले न्यानो दिइरहेको छ ।’ विवाह व्रतबन्धको सिजनमा ३ घण्टा मात्र सुत्ने गरेको उनले बताए ।

सीता–अशोक दम्पतीले उत्पादन गरेका सामग्री अन्तर्राष्ट्रिय बजारसम्म जाने गरेका छन् । अल्लो र ढाकाबाट निर्मित कपडाको माग स्थानीय बजारदेखि विदेशबाट समेत आउन थालेपछि दिनचर्या फेरिन थालेको  छ । अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी, सल, मफलर, आउटर, पञ्चुु, कुर्ता, ब्याग, पर्स, झोला, चप्पल लगायतका सामग्री उत्पादन गरेर बजारसम्म पुर्‍याउने गरिएको छ ।

परम्परागत काठको तानमा हातले बुन्ने गरेका कपडाको माग स्वदेश तथा विदेशमा पनि बढ्न थालेपछि उद्यमी दम्पतीलाई भ्याइँनभ्याइँ हुने गरेको छ । ताप्लेजुङ, संखुवासभामा उत्पादित अल्लोको कच्चा पदार्थ ल्याएर दम्पतीले आफैं नै घरेलु तानमा अल्लो र ढाकाका कपडाबाट कोट, ढाकाको साडी, सल, मफलर, आउटर, पञ्चुु, कुर्ता, ब्याग, पर्स, झोला, जुत्ता चप्पल लगायतका सामग्री उत्पादन गर्दै आइरहेका छन् । 

लुमा घरेलु अल्लो कपडा उद्योगमा उत्पादित अल्लो र ढाकाबाट निर्माण कपडाका सामग्री नेपाली बजारदेखि हङकङ, जर्मन, थाइल्यान्ड, चीन र भारतसम्म पुग्ने गरेका जनाइएको छ । 

अल्लोका कपडाले अहिले विभिन्न महोत्सवमा समेत निकै बजार पाउन थालेका छन् । पछिल्लो समय माग बढेपछि सीता–अशोक दम्पतीलाई भात खान समेत फुर्सद छैन । दम्पतीले १० लाख रुपैयाँ लगानी गरेर शुरू गरेको व्यापारबाट अहिले महिनामै ५ लाखको बिक्री हुने गरेको छ । 

व्यापारमा १६ जनालाई रोजगारी दिएका छन् । ८ वटा तान र ५ वटा सिलाइ मशिनको प्रयोग गरेर कपडा उत्पादन गर्ने गरेको सीताले बताइन् ।

स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित अल्लोका कपडाको माग तेस्रो मुलुकबाट आएपछि दम्पती झनै उत्साहित बनेका छन् । पहिला हेला भएको कपडा अहिले डलरमा बिक्री हुँदा खुशी लागेको सीताले बताइन् । कपडा उद्योगमा १ करोड हाराहारी लगानी लागेको छ । महोत्सव तथा मेलाहरूमा धेरैको रोजाइ पर्ने गरेको छ अल्लोको कपडा ।

अल्लोको माग चीनमा बढी भएको सीताले बताइन् । ‘मागेअनुसार अझै पठाउन सकेका छैनौं,’ उनले भनिन्, ‘धागो कात्ने आधुनिक खालका मशिनहरू आए छिटो हुन्थ्यो ।’ चीनमा एउटा कार्यक्रममा जाने अवसर आए पनि कोरोनाका कारण लकडाउन हुँदा जान नसकिएको उनले बताइन् ।

आधुनिक खालका उपकरणहरू नहुँदा सोचे अनुसारको उत्पादन गर्न नसकिएको उनले बताइन् । ‘आधुनिक उपकरण नहुँदा श्रमिकलाई सोचेजस्तो ज्याला दिन सकिएको छैन,’ सीताले भनिन्, ‘हाम्रो उद्योगमा १० हजारदेखि मासिक ७५ हजार रुपैयाँसम्म कमाउने मजदुर छन् ।’ 

विवाह व्रतबन्धका लागि डिजाइन अनुसारको कपडा समेत बनाइदिने गरेको उनी बताउँछिन् । व्यवसाय शुरू गर्दाको पीडा सम्झँदै उनले भनिन्, ‘धेरैले जुम्रिया भने, सिलाइबुनाई शुरू गर्दा दमाइले गर्ने पेशा पनि भने, अहिले उनीहरू नै आएर कति राम्रा कपडा भन्दै किन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्