
एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रवार राति शरणार्थी डुंगा डुब्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिवार जनाएका छन् ।
ग्रीसेली राष्ट्रिय समाचार संस्था एमएनएका अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो ।
यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समूहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो ।
उक्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ । ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु नजिकै गत बुधवार पनि एउटा डुंगा डुबेको थियो भने उक्त घटनामा तीन जनाको मृत्यु भएको र थियो । डुंगा दुर्घटनामा अन्य १३ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही मानिसहरू बेपत्ता भएका थिए ।
सन् २०१५ देखि शरणार्थी र आप्रवासीको आश्रयस्थलका रूपमा अग्रपंक्तिमा रहेको छ । विगत ६ वर्षमा एजियन समुद्रमा सयौंको मृत्यु भएको छ ।
‘ग्रिक म्यारिटाइम अफेयर्स र इन्सुलर पोलिसी’ मन्त्रीले शनिवार इमेलमार्फत दिएको जानकारीमा भनिएको छ, 'सन् २०२१ मा ग्रीसले एक हजार ४५० खोज तथा उद्धार अभियानमार्फत् २९ हजार भन्दा बढी मानिसहरूको उद्धार गरेको छ ।'
सुरक्षाको आधारभूतस्तर अनुरूप नभएका डुंगाहरूमा प्रायः व्यापारीहरूले दर्जनौं गरीब तथा द्वन्द्वपीडित मानिसहरूलाई ओसारपसार गर्ने गरेका र यसका कारण बढी दुर्घटनाहरू भएका ग्रीसका अधिकारीहरूले बताएका छन् । -रासस/सिन्ह्वा