
नेकपा माओवादी केन्द्रले आइतवार शुरू हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीलाई फोन गरेर महाधिवेशनमा सहभागी हुन निम्तो दिएका हुन् ।
झापामा रहेका ओलीले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै आउन नसक्ने जानकारी गराएको एमाले स्रोतले जनाएको छ ।
शनिवारसम्म राष्ट्रिय सम्मेलन गर्ने बताएको माओवादीले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो ।
महाधिवेशनमा रूपान्तरण गरेसँगै माओवादीले उद्घाटन समारोहमा विभिन्न दलका नेतालाई आमन्त्रण गरेको छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सहभागिताको प्रतिबद्धता जनाएका छन् ।
मंसिर १० गते चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा प्रचण्डलाई निमन्त्रणा गरेपनि उनी सहभागी भएका थिएनन् । प्रचण्डले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई प्रतिनिधि पठाएका थिए ।
एमालेले पनि माओवादी सम्मेलनमा प्रतिनिधि पठाउने तयारी गरेको छ । माओवादीको महाधिवेशन दिउँसो ३ बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरू हुँदैछ ।
दिउँसो १ बजे गर्ने भनिएको उद्घाटन समारोह ३ बजेका लागि सारिएको छ ।