२८ जेठ २०८३, बिहीबार
माओवादी महाधिवेशन

माओवादीमा १५ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव: वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव पनि रहने

माओवादीमा १५ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव: वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव पनि रहने
फाइल फोटो

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय कमिटी बैठकले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले केन्द्रीय कमिटीको फर्मेसन क्लष्टरअनुसार नै गर्ने निर्णय गरिएको पनि बताए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव पेश भए पनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताए ।

केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उनले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताए ।

सहमति हुन नसकेमा निर्वाचनमा जाने उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ । केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला । त्यसमा असहमत भएका साथीहरूले राख्न सक्नुहुन्छ । सहमति भयो भने निर्वाचनमा जान्न, सहमति भएन भने जान्छ ।’

माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ । कोभिड १९ को कारण देखाउँदै विदेशी पाहुना भने कसैलाई बोलाइएको छैन ।

आइतवारदेखि शुरू हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भएपनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए ।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आइतवार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्