
रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीसँगै निजी विमान कम्पनीहरूले लुम्बिनी प्रदेशसँग अन्य प्रदेशका शहरहरू जोड्दै गएका छन् । वायुसेवा कम्पनीहरूले गौतमबुद्ध विमानस्थलबाट प्रदेशस्तरीय उडानलाई प्राथमिकता दिँदै उडान थालेका छन् ।
कम्पनीहरूले लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पोखरा, विराटनगर र भरतपुरको उडान विस्तार गर्दै गएका छन् । उनीहरू ‘डोमेस्टिक’ उडानलाई आक्रामक रूपमा विस्तार गर्न जुटेका छन् ।
विमान कम्पनीहरूले यस अगाडिसम्म काठमाडौंबाट भैरहवाको लागि मात्रै उडान गर्दै आएका थिए । निजी विमान कम्पनीहरूले आन्तरिक र बाह्य पर्यटकहरूलाई सुरक्षित महसुस गराएर हवाई सेवा दिन लागेको दाबी गरेका छन् ।
सौर्य एयरले भैरहवा–विराटनगर उडान शुरू गरी लुम्बिनीलाई पूर्वी नेपालसँग जोडेको छ ।
सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादवले लुम्बिनी र प्रदेश नम्बर १ बीच सीधा हवाई सम्पर्कले दुई प्रदेशको पर्यटन, उद्योग र व्यापार विस्तारमा सघाउ पुग्नुका साथै भुटान, पूर्व–उत्तर भारत र बंगलादेशसम्म लुम्बिनीको सीधा पहुँच स्थापित भएको बताए ।
‘भैरहवा–विराटनगर राम्रो उडान भइरहेको छ । यहाँबाट जनकपुर, झापा, विराटनगर हुँदै भारततर्फ जाने यात्रुहरू छन्,’ उनले भने, ‘हामी अहिले सन्तोषजनक नै छौँ । शुरुआतमा यो राम्रो मान्नै पर्छ ।’
स्थलमार्ग (गाडीबाट) अहिले रुपन्देहीबाट विराटनगर पुग्न मात्रै १८ घण्टा समय लाग्ने गरेको छ ।
दुई वर्ष अगाडिदेखि सातामा तीन दिन भैरहवा–पोखरा उडान शुरू गरेको बुद्ध एयरले यात्रुको चाप अत्याधिक भएपछि अहिले दैनिक तीन उडान गरी आक्रामक बजार विस्तार गरिरहेको छ ।
त्यस्तै बुद्धले बागमती प्रदेशको चितवनको भरतपुरका लागि पनि भैरहवाबाट उडान थालेको छ ।
बुद्ध एयर भैरहवाका प्रमुख दशरथ घिमिरेले पोखरा र भरतपुर उडान उत्साहजनक रहेको बताए । ‘अबको केही समयपछि हाम्रो उडान भैरहवा–जोमसोम पनि हुन्छ । त्यसका लागि बुद्धले नयाँ तीन वटा विमान ल्याउँदैछ,’ उनले भने, ‘हाम्रो पहाडको लागि ट्वीनेटर विमान आउँदै छन् । प्रदेश–प्रदेशलाई हाम्रा विमान कम्पनीले जोड्दै छन् ।’
सौर्यले भैरहवा–विराटनगर उडान ५० सीट क्षमताको वमवाडियर सिआर जे २०० जेट एयरक्राफ्टबाट गरेको छ । दिउँसो २ बजेर ५ मिनेटमा भैरहवाबाट विराटनगरका लागि प्रस्थान गर्ने विमान ४० मिनेटमा विराटनगर पुग्छ । विराटनगरबाट ३ बजेर २० मिनेट जाँदा भैरहवाका लागि विमान उड्ने गर्छ ।
अब सीधा उडानले समयको बचत भएको छ । सीधा उडान नहुँदा विमान प्रयोग गर्नैपर्नेले भैरहवाबाट काठमाडौं जाने र त्यहाँबाट विराटनगर उडानको टिकट लिन्थे । यसो गर्दा पनि यात्रुका लागि ३ देखि ४ घण्टा समय लाग्थ्यो । भैरहवा–विराटनगर भाडादर ६ हजार छ ।
विराटनगर मुलुकको प्रमुख औद्योगिक शहरमध्ये एक हो । त्यस क्षेत्रका व्यवसायीले लुम्बिनी क्षेत्रमा औद्योगिक लगानी बढाइरहेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि हुने उडानले ल्याउने पर्यटकीय गतिविधिलाई लक्षित गर्दै होटललगायत सेवा उद्योगमा यहाँ लगानी बढिरहेको छ । रूपन्देही होटलको हबको रुपमा विकास भएको छ ।
नेपालको पूर्वी क्षेत्रमा रहेका भेडेटार, धनकुटा, इलाम, पाथीभारालगायत विभिन्न पर्यटकीय क्षेत्रमा यहाँका बासिन्दा घुमफिर गर्न गइरहन्छन् । त्यसै गरी भारतको दार्जिलिङ र सिक्किम पनि यहाँका नागरिक घुमफिर गर्ने प्रमुख थलो हुन् ।
‘यी सबै विषयलाई ध्यान दिँदै भैरहवा–विराटनगर उडान विस्तार गरिएको हो, यो उडानले धेरै सम्भावनाको ढोका खोल्छ,’ सौर्यका भैरहवा शाखा प्रमुख यादवले भने ।
भैरहवा–पोखरा १८ सीट भएको बीच–१९ विमान उडान गरेको बुद्ध एयरले अहिले ७२ सीट क्षमतामा विमान उडाइरहेको छ ।
यस्तै पोखरा मुलुकको प्रमुख पर्यटकीय शहर हो । अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य मुस्ताङ, बागलुङ, पर्वत पनि पोखरा नजिकै पर्छ ।
पोखरा–जोमसोम नियमित उडान पनि विमान कम्पनीले गर्दै आएका छन् । बुद्धले भैरहवा–पोखरा उडान भारतीय बजारलाई लक्षित गरी शुरू गरेको हो । अबको केही समयपछि यस क्षेत्रका यात्रुले भैरहवा–जोमसोम सेवा दिने घिमिरे बताउँछन् ।
सीमावर्ती भारतीय शहरका धेरैको घुमफिरको प्रमुख रोजाइ पोखरा हो । हिन्दू समुदायको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ पनि भारतीयको रोजाइको ठाउँ हो ।
कोरोना महामारीको जोखिमले नेपाल–भारत नाका नियमित नहुँदासमेत बुद्धले उडान संख्या विस्तार गर्यो । ‘आन्तरिक यात्रुको चापले उडान विस्तार गरेका हौं । अब नाका नियमित भएको छ,’ बुद्ध एयर भैरहवाका प्रमुख दशरथ घिमिरेले भने, ‘भारतीय यात्रुको चाप बढ्दैछ । हामीले खोजेजस्तो बजार पाएका छौं ।’
भैरहवा–पोखराको भाडा चार हजार ४५० रूपैयाँ छ । भैरहवाबाट १५ मिनेटमा पोखरा पुग्न सकिन्छ ।
भैरहवा–काठमाडौं दैनिक १० उडान गरिरहेको बुद्धले भैरहवा–भरतपुर पनि एउटा उडान गरिरहेको छ ।
बुद्ध निजी विमान कम्पनीमध्ये धेरै उडान भर्ने गर्छ । भैरहवाबाट भरतपुर दैनिक दिउँसो १ बजेर २५ मिनेटमा विमान प्रस्थान गर्छ भने भरतपुरबाट भैरहवाको लागि मध्यान्ह साढे १२ बजे विमान छुट्ने गर्छ । भैरहवा–भरतपुर भाडादर ३ हजार ३०० देखि ४ हजार ४०० सम्म छ ।
विमान कम्पनीहरूले भैरहवाबाट ठूला शहरबीच सीधा उडान नियमित गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा बल पुग्ने लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने रुपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतमले बताए ।
‘अब नेपालको पूर्वी क्षेत्रका मात्रै नभई सिक्किम र दार्जिलिङलगायत पूर्वोत्तर भारतका नागरिक लुम्बिनी भ्रमणका लागि सहज पहुँच स्थापित भएको छ,’ गौतमले भने, ‘निजी विमान कम्पनीहरूले गरेको यो कामप्रति राज्यले सकारात्मक ढंगले सहयोग गर्न आवश्यक छ ।’