
नेपाल प्रहरीको साइबर ब्यूरोले आइतवार ‘साथीभाइ अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालक ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गर्यो ।
बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ घर भएका मल्लमाथि अनुसन्धानका लागि ५ दिनको म्याद लिएर हिरासतमा राखिएको ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले जानकारी दिए ।
‘हामीले उनलाई सामाजिक मर्यादामा खलल पुर्याएकाले पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘अहिले हामीले अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

किन परे पक्राउ ?
साथीभाइ अनलाइन टीभी नामको युट्युब च्यानलमा १ सयभन्दा बढी भिडियो छन् । उक्त च्यानल १ लाख १७ हजार जनाले सस्क्राइब गरेका छन् ।
त्यसमा अपलोड भएका भिडियोका शीर्षक हेर्दा नै थाहा हुन्छ, ती परिवारसँग बसेर हेर्न मिल्ने खालका छैनन् ।
प्य्रांकको बहानामा द्विअर्थी र अश्लील शब्द प्रयोग गरेर उनले फरक-फरक युवतीसँग अमर्यादित भिडियो बनाएका छन् ।
एकै युवतीको एकभन्दा बढी भिडियो पनि बनाइएको छ, जुन लोकेसन र पोशाक हेर्दा एकै दिन खिचेको जस्तो देखिन्छ ।
भिडियोमा उनले ‘पाइन्ट खोलेर देखाइदिम्’, ‘दुई खुट्टाको बीचमा के हुन्छ ?’, ‘नांग्गै बनाइदेऊ न’ जस्ता अश्लील र समाजमा नपच्ने खालका संवाद युवतीहरूसँग गरेका छन् ।
कतिपय भिडियोका शीर्षक त यस्ता छन्, जुन यहाँ उल्लेख गर्न पनि सकिन्न । युवतीलाई पछाडिबाट समाएको, कपडा खोल्न लागेको दृश्य पनि भिडियोमा छ ।
उक्त भिडियो १ लाख १६ हजार पटक हेरिएको छ ।
भिडियोको शुरूमै एक युवतीलाई 'खाइदिऊँ' भन्दै च्याप्प समाएको क्लिप छ । त्यसलाई दोहोर्याएर देखाइएको छ ।
पूरै भिडियो द्विअर्थी र अश्लील शब्द प्रयोग गरी बनाइएको छ ।
मोडल बनाइदिन्छु भन्दै ब्ल्याकमेल !
मोडल बनाइदिने प्रलोभन देखाएर युवतीहरूको भिडियो खिच्ने गरेको उनले प्रहरीसँगको बयानमा जानकारी गराएका छन् ।
‘युवतीहरूलाई हिट बनाइदिने बहानामा भिडियो खेलाउने र द्विअर्थी संवाद गर्ने गरेको पाइएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘त्यसले गर्दा उनीहरूको परिवारमा समस्या आउने गरेको देखिएको छ ।’
नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । व्यक्तिगत गोपनीयताको हक पनि हरेक मानिसलाई छ ।
तर, डलर कमाउन ‘युट्युबर’हरूले संविधानमा भएका प्रावधान धज्जी उडाइरहेका छन्,
अमर्यादित खालका भिडियो बनाउने युट्युबरहरूलाई प्रहरी प्रधान कार्यालयको पहल र गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरी कानूनको दायरामा ल्याउन थालिएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले बताए ।
‘गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयको निर्देशनमा हामीले समाजमा खलल पुर्याउने युटुबरहरूलाई पक्राउ गर्दै आएका छौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘कानूनले बर्जित गरेका शब्दहरू प्रयोग गर्ने युट्युबरहरूलाई पक्राउ गरिरहेका छौं ।’