
नेकपा (माओवादी केन्द्र ) का उपत्यका विशेष प्रदेशका अध्यक्ष एवम् उक्त समुहका टोली नेता जगत सिंखडाले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एउटा एउटा नमुना वडा छनौट गरेर उत्पादन ब्रिगेड वनाउनु पर्ने धारणा राखेका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौ दिन आफ्नो समुहको तर्फबाट धारणा राख्ने क्रममा सिंखडाले सो भनाई राखेका हुन्।
आज समुहगत समुहगत छलफलको निष्कर्ष महाधिवेशनको हलमा पेश गर्दै सिंखडाले भने -' उत्पादन प्रक्रियालाई व्यवस्थित गर्न १६५ वटै निर्वाचन क्षेत्रका १-१ वटा वडा छानेर पार्टी सिसिएमको नेतृत्वमा जेष्ठ कम्युनिस्ट मञ्च , सल्लाहकार , प्रदेश समिति , जिल्ला समन्वय समिति , पालिका समिति र वडा समितिको प्रतिनिधित्व रहनेगरी उत्पादन विग्रेड वनाइनुपर्दछ। '
सिंखडाले सुचना प्रविधिका क्षेत्रमा आएको अभुतपुर्ण क्रान्तिसंगै त्यसमा नियन्त्रण र प्रभाव जमाउने पुँजीवादी शक्तिहरुले आन्दोलन , वर्ग र विचार माथि निरन्तर प्रहार गरिरहेको आरोप लगाएका छन् । त्यसलाई काउण्टर गर्न त्यसै अनुसारको योजना , प्रविधि र कार्यक्रमका साथ अघि बढ्नुपर्ने उनको धारणा रहेको छ।
सिंखडाले राजनीतिक प्रतिवेदनको शिर्षकलाई एकाइशौं शताब्दीमा समाजवादको नेपाली वाटोको ठाउँमा ' समाजवादी क्रान्तिको नेपाली वाटो ' राख्नु उपयुक्त हुने धारणा राखेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका सिंखडाले नीति निर्माण तहमा श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने धारणा राखेका छन्। सिंखडाले राष्ट्रिय श्रम आयोग गठनको माग समेत राखेका छन्।