
चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् ।
डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैँडा करेन्ट लागेर मरेको हो । भरतपुर महानगरपालिका–१६ मा गैँडा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
चितुवा रुखमा अड्किएर ठिमुराको जंगलमा मरेको अवस्थामा फेला परेको हो । यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको उनले जानकारी दिए ।
गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् । खनालका अनुसार ७० प्रतिशत वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् । वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुन सकेको छैन ।
जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए । तिनीहरूमा एउटा पाटेबाघ, ९ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो ।
धेरै संख्यामा मर्ने गरेको पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली खण्डमा आकाशे पुल वा सतही सडक निर्माणको बहस चलेको छ ।
यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन् । सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन् । निकुञ्जको तथ्यांकअनुसार १० भाले सात पोथी र दुई लिंग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो ।