०६ असार २०८३, शनिबार
बढ्दै लगानी प्रतिबद्धता

कोरोना संकट केही कम हुँदा बढ्यो लगानी प्रतिबद्धता : चीनबाट २३ अर्ब, भारतबाट २९ करोड

कोरोना संकट केही कम हुँदा बढ्यो लगानी प्रतिबद्धता : चीनबाट २३ अर्ब, भारतबाट २९ करोड

कोरोना महामारीपछि पुनरुत्थान हुँदै गरेको नेपालको अर्थतन्त्रमा लगानी प्रतिबद्धता बढ्दै जान थालेको छ । 

चालू आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्मको तथ्यांकले वैदेशिक लगानीको प्रतिबद्धता थपिँदै गएको देखाएको हो ।

उद्योग विभागको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार मुलुकमा सेवा क्षेत्रमा सर्वाधिक बढी लगानी प्रतिबद्धता आएको छ ।

चालू आर्थिक वर्ष २०७८ को मंसिर मसान्तसम्ममा मुलुकमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । 

साउनदेखि मंसिर मसान्तसम्ममा विभिन्न १३ मुलुकबाट २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको र त्यसलाई स्वीकृत गरिएको उद्योग विभागले जनाएको हो । 

विभागका अनुसार साउनदेखि मंसिरसम्ममा १ सय २२ परियोजनामा वैदेशिक लगानी स्विकृत भएको हो । 

जसमध्ये चीनले सर्वाधिक धेरै १ सय २ परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ । 

चीनले मध्यमखाले ३५ र साना ६७ परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ ।

गत आर्थिक वर्ष (आ.व.)को सोही समयमा चीनले १ सय ३ परियोजनामा लगानी प्रतिबद्धता जनाएको थियो । 

जसमध्ये १ सय २ वटा साना र १ वटा परियोजनामा उसको लगानी स्वीकृत गरिएको थियो ।

चीनले चालू आ.व.को मंसिर मसान्तसम्ममा २३ अर्ब १४ करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही समयमा चीनको १८ अर्ब ११ करोड ७२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिएको थियो ।

चीनले चालू आ.व.मा १ सय ३ परियोजनामा लगानी गर्दा ३ हजार ५७ जनाले रोजगारी पाउने बताइएको छ । 

उद्योग विभागका अनुसार, चालू आ.व.को मंसिर मसान्तसम्ममा अमेरिकाले विभिन्न ६ साना परियोजनामा ३० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । 

कुन आर्थिक वर्षमा कति लगानी प्रतिबद्धता ? 

यसअघि आर्थिक वर्ष २०७६/७७ को मंसिर मसान्तसम्म नेपाललाई विभिन्न मुलुकहरूबाट २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

सो आर्थिक वर्षमा अर्थतन्त्र ठीकठाक रहेको थियो । 

अर्थतन्त्र सामान्य अवस्थामा रहँदा २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता विदेशी मुलुकहरूबाट प्राप्त हुनु राम्रो रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । 

सोही आर्थिक वर्षको फागुन महिनाबाट मुलुकमा कोरोना महामारी शुरू भएको थियो । यस्तै चैत ११ गतेदेखि त सरकारले मुलुकभर लकडाउन नै घोषणा गरेको थियो । 

लकडाउन घोषणा भएसँगै मुलुकको अर्थतन्त्र ठप्पप्रायः नै रहन गयो ।

२०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्ममा २१ अर्ब २० करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । 

सो वर्ष कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र नै संकटमा परेका बेला वैदेशिक लगानीको प्रतिबद्धतामा केही ह्रास आएको थियो ।

कुन क्षेत्रमा कति आयो लगानी प्रतिबद्धता ? 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सर्वाधिक बढी सेवा क्षेत्रका ३७ परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता भएको छ । 

सो समयमा सेवा क्षेत्रमा विभिन्न मुलुकबाट १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

यस क्षेत्रमा १ हजार ९ सय ३९ जनशक्तिले रोजगारी पाउने बताइएको छ ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा पर्यटन क्षेत्रमा ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक प्रतिबद्धता आएको छ ।

यस्तै निर्माण क्षेत्रमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आउँदा कृषि क्षेत्रमा ६० करोड रुपैयाँमात्रै प्रतिबद्धता आएको छ ।

चालू आवको मंसिर मसान्तसम्ममा ऊर्जामा ५ अर्ब ६२ करोड, सूचना तथा प्रविधिमा ४५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

ऊर्जा क्षेत्रमा पनि कम

मंसिर मसान्तसम्ममा ऊर्जा क्षेत्रमा पनि कम मात्र लगानी प्रतिबद्धता आएको छ । 

यस क्षेत्रमा ५६ करोड रुपैयाँमात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

१ परियोजनाका लागि मात्रै लगानी प्रतिबद्धता आएको हो । 

नेदरल्याण्डले सो परियोजनामा ५६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएको हो । 

कुन-कुन मुलुकबाट आयो लगानी प्रतिबद्धता ? 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल १३ मुलुकले १ सय २२ साना, मध्यम तथा ठूला परियोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । 

जसमध्ये सर्वाधिक बढी छिमेकी मुलुक चीनले प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागका अनुसार चीनले १ सय २ परियोजनाका लागि २३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ । 

यस्तै अमेरिकाबाट ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ६ वटा साना परियोजनाका लागि अमेरिकाबाट लगानी प्रतिबद्धता आएको हो ।

यस्तै स्पेनबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने सिंगापुरले १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

छिमेकी मुलुक भारतबाट नेपालमा ४ परियोजनाका लागि २९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यी मुलुकहरूबाहेक फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, स्विजरल्याण्ड, भियतनाम लगायत मुलुकबाट पनि लगानी प्रतिबद्धता आएको छ ।

‘लगानीको वातावरण बढ्यो’

उद्योग विभागले पछिल्लो समय मुलुकमा लगानीको वातावरण बनेको दाबी गरेको छ । 

विभागका निर्देशक एवं सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले कोरोना महामारीपछि अर्थतन्त्र पुरानै लयमा फर्किँदा लगानीको वातावरण बनेको बताए । 

उनका अनुसार, लगानीको वातावरण बनेसँगै विभिन्न मुलुकहरूबाट वैदेशिक लगानी प्रतिबद्धता आउने क्रम पनि बढेको छ ।

कोरोना महामारी भन्दा अगाडिको समयमाभन्दा अहिले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बढेको निर्देशक पराजुली बताउँछन् । 

यस्तै पछिल्लो समय वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आउँदा पनि लगानी भित्रन सहज भएको निर्देशक पराजुली बताउँछन् ।

‘कोभिड अगाडिभन्दा अहिले बढेको अवस्था छ । यसको कारण सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पूर्णरूपमा कार्यान्वयनमा आएको छ,’ निर्देशक पराजुलीले भने, ‘वैदेशिक लगानी आकर्षित गर्ने नीति कार्यक्रममा बजेटमा नै आइसकेको अवस्था छ । यसले पनि वैदेशिक लगानीलाई सहज बनाएको छ ।’

उनले अहिले मुलुकमा लगानीको वातावरण रहेकाले वैदेशिक लगानीका प्रतिबद्धता अझै आउने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्