०१ असार २०८३, सोमबार

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपुरको मध्यबिन्दु–१२ मा शुक्रवार बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।

बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । 

घटनास्थल अरुणखोला– दुम्कीबास सडकखण्डभन्दा करीब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो ।

सो घटनास्थल र शुक्रवारको घटनास्थल केही दूरीको फरकमा छ । 

वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।

बाघको आक्रमणबाट थप १ जनाको मृत्य भएपछि चिन्तित स्थानीय बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्