राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाए ।
दिनेश हेन्जनको पासमा एपीएफका ४ डिफेन्डर र गोलकिपरलाई छलाउँदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो तर आर्मीको त्यो १ शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको ६७औं मिनेटमा एपिएफका बिकी तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्ड बलमा गोल गरेका हुन् ।
यो बराबरी खेलसँगै आर्मीले ७ खेलमा ११ अंक जोडेको छ । आर्मी अंक तालिकाको चौथो स्थानमा छ । समान खेल खेलको एपीएफले ६ अंक जोड्दै अंक तालिकाको ११औं स्थानमा रहेको छ ।