२० असार २०८३, शनिबार

माओवादी महाधिवेशन : सबै प्रतिनिधिको सुझाव प्रतिवेदनमा समेट्ने प्रचण्डको प्रतिबद्धता

माओवादी महाधिवेशन : सबै प्रतिनिधिको सुझाव प्रतिवेदनमा समेट्ने प्रचण्डको प्रतिबद्धता
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन प्रतिनिधिहरूले दिएका सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको छैठौं दिन प्रतिनिधिहरूलाई जवाफ दिने क्रममा प्रचण्डले सबै सुझावलाई प्रतिवेदनमा समेट्ने आश्वासन दिएका हुन् । 

प्रचण्डले बन्दसत्रमा ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरेर सुझाव दिएका थिए ।

प्रचण्डले प्रतिनिधिहरूलाई जवाफ दिँदै माओवादीको महाधिवेशनले देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुने गरी उद्घाटन सत्र शुरू भएको दाबी गरे । 

उनले प्रतिवेदन पेश गरेपछि बन्दसत्र हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भएको र महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेको प्रचण्डको दाबी थियो । 

‘हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ’, प्रचण्डले भने । 

प्रतिवेदनमाथि प्राप्त समर्थन र आलोचनालाई लिएर प्रचण्डले भने, ‘कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१ औं शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।’

पूर्व माओवादी नेता बाबुराम भट्टराईले प्रचण्डको प्रतिवेदन २० औं शताब्दीमा फर्कने खालको भएको प्रतिक्रिया दिएका थिए । त्यसैगरी, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले किताब पढेर लेखिएको प्रतिवेदनले परिवर्तन ल्याउन नसक्ने बताएका थिए ।

प्रचण्डले भने, ‘तर, यो महाधिवेशन अरूभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले शुरूदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रूपान्तरणमा केन्द्रित बन्यो । यही रूपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’

महाधिवेशन प्रतिनिधिले अध्यक्षको प्रतिवेदन ढिलो पाएका कारण प्रशस्त पढ्न नपाएको गरेकोमा पनि प्रचण्डले जवाफ दिएका छन् । प्रतिवेदनको गोपनियता कायम गर्न पनि ढिला गरी बाँडिएको उनले बताए । 

‘प्रतिवेदनको गोपनीयता राख्ने कुरा पनि छ । यही भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाऊँ भनेको हो । कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ’, प्रचण्डले भने ।

माओवादी केन्द्रको महाधिवेशनलाई सबै राजनीतिक दल र सिंगो नेपालले चासोपूर्वक हेरेको उनले बताएका छन् । 

‘हाम्रो महाधिवेशनप्रति पूरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्‍घाटनमै पनि यहाँहरूले सुन्नुभो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो’, प्रचण्डले भने ।

समूहगत रूपमा प्रतिवेदनमा छलफल गरेपछि निष्कर्ष प्रस्तुत गरेका टोली नेताले प्रतिवेदन सही छ भन्ने निष्कर्ष सुनाएको प्रचण्डको दाबी थियो । तर, केही प्रतिनिधिले भने आक्रोशमा आएर सुझाव दिएको भन्न पनि प्रचण्डले छुटाएनन् । 

‘यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्प्रिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । तर, त्यो पनि सुझाव नै हो । म तपाईंहरूलाई के विश्वास दिलाउन चाहन्छु भने यो सिंगै हलको साझा प्रतिवेदन भयो । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरूले पाउनुहुन्छ । सबै सुझाव समेटिन्छ ।’  

salt training

कमेन्ट गर्नुहोस्