
सिके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा प्रदर्शन गरेको छ ।
हातमा डण्डा लिएका नेता कार्यकर्ताको समूहले सडकमा टायर बाल्दै पार्टीको पक्षमा नारा लगाएका थिए ।
किसानका पक्षमा विभिन्न माग राख्दै दिवा अनिश्चितकालीन राजमार्ग अवरुद्धको घोषणा गरेको पार्टीले रुपन्देहीमा पनि आफ्नो आन्दोलन जारी राखेको हो ।
पार्टीका नेता कार्यकर्ताले भैरहवा–लुम्बिनी सडकखण्डको सुण्डीमा बाटोमै टायर बालेर धर्ना दिएको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष विष्णुप्रसाद लोधले जानकारी दिए । आन्दोलनका कारण सडक अवरुद्ध हुँदा सवारी बाटोमै अलपत्र परे ।
किसानमाथि सरकारको तर्फबाट भइरहेको दमन बन्द गर, किसानहरूलाई आन्दोलनकारी भन्दै लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा किसानलाई मलखाद र बीउविजन उपलब्ध गराउनु पर्नेलगायतका माग राख्दै आन्दोलन गरिएको अध्यक्ष लोधले जानकारी दिए ।
सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन नरोकिने पार्टीका नेताहरूले बताएका छन् ।