
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन् ।
पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी छ ।
शनिवारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिकाअनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ ।
चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भए पनि बढीभन्दा बढी प्रतिनिधिहरूले भने पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउँछन् । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनले बताए ।
प्रतिनिधि डा. कृष्णप्रसाद खनालले माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताए । पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उनको तर्क छ ।
प्रतिनिधि लीलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुत बन्ने बताउँछन् । प्रतिस्पर्धाबाट आएमा नेताहरूले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उनको भनाइ छ ।
त्यसैगरी प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरे पनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने बताए ।