
नेतृत्व चयन गर्न नसकेर माओवादी महाधिवेशनको बन्दसत्र लम्बिएको समयमा गायक चेतन सापकोटाले क्रान्तिकारी गीतले हल गुन्जाएका छन् ।
चे ग्वेराले लगाउने खालको क्याप लगाएका सापकोटाले बन्दसत्रलाई तताएका हुन् ।
महाधिवेशन उद्घाटनको दिन पुस ११ गते पनि उनले ‘गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो...’ बोलको गीत गाएका थिए ।
सातौँ दिनको बन्दसत्रमा चेतन सापकोटाले गीत गाएको भिडियो माओवादी केन्द्रीय सदस्य हिमाल शर्माले शेयर गरेका छन् । सापकोटाले गीत गाउँदा माओवादी प्रतिनिधिहरूले ताली बजाएर साथ दिएका थिए ।
नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ । निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् ।