
स्थानीय तहका पदाधिकारीले पिर्के सलामी लिएकोमा विरोध गर्दै आएकी शहरी विकास मन्त्री रामकुमार झाँक्री आफैं सलामीका कारण विवादमा तानिएकी छिन् ।
गृहजिल्ला गुल्मी पुगेको बेला इलाका प्रहरी कार्यालय मदानेमा मन्त्री झाँक्रीले सलामी ग्रहण गरेकी थिइन् ।
रातो कपडाले बेरिएको पिर्कामा उभिएकी मन्त्री झाँक्रीलाई ५ जना प्रहरीले सलामी दिइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विगतमा पिर्के सलामी लिएका स्थानीय तहका पदाधिकारीबारे झाँक्रीले गरेको कमेन्टसहित सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

बहुसंख्यकले ‘पद नपाउञ्जेल मात्र रहेछ विरोध गर्ने’ भन्दै कमेन्ट गरेका छन् ।
गृह जिल्ला भ्रमणमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पिर्के सलामीबारे भइरहेका कमेन्टबारे कुनै प्रतिक्रिया जनाएकी छैनन् ।