
अचानक चिसो बढ्दै गएपछि उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रका गरीब विपन्न परिवारलाई समस्या परेको छ ।
न्यानो लुगा र ओढ्नेको अभावमा ती परिवार समस्यामा परेका हुन् ।
त्रियुगा–३ मोतिगडा, त्रिनपा–१ जोगिदह, त्रिनपा–६ देउरी उत्तराई र चौदण्डी गढीको हँडियाका मुसर चिसोबाट पीडित बनेका जनाइएको हो ।
त्रियुगा–३ मोतिगडा ठाडी मुसहर टोलका गुदर सदाले गतिलो ओढ्ने कपडा नहुँदा रातका समयमा आगो र घुर तापेर रात काट्न बाध्य भएको बताए ।
२ वर्षअघि त्रियुगा नगरपालिकाले वितरण गरेको केही ओढ्ने कपडाहरू फाटिसकेको र लामो समयसम्म कोरोनाको प्रभावले आफूहरूले रोजगारी गुमाउन पर्दा नयाँ कपडा किन्न पनि नकसकेको उनीहरूको गुनासो छ ।
त्रिनपा देउरी–६ जलजले उत्तरराई टोलका देवीराम सदाको पनि गुनासो गुदर सदाको जस्तै छ । उनले भने, ‘पुराना कपडाहरू फाट्न थाले, नयाँ कपडाहरू किन्न सकिएन, झण्डै २ वर्ष कोरोनाका कारण काम गुमाउन पर्दा घरमा खान र परिवार पाल्न नै धौंधौं पर्यो, ७ जनाको परिवारमा २ वटा ओढ्ने कम्मल छ, चिसो बढेपछि राति पालैपालो सुत्ने र पहिलो सुत्ने उठेपछि अरू सोही लुगा ओढेर सुत्ने गरेका छौं ।’
त्रिनपा–१ जोगिदह मुसहरी टोलका सदा परिवारहरूको पनि यस्तै समस्या छ । स्थानीय सामाजिक अभियन्ता जानुका सदाका अनुसार अधिकांश जोगिदहका मुसरहरू ओइलेनी जग्गामा बस्न र रातको समयमा घरको आँगन परिसरमा आगो तापेर रात काट्न बाध्य छन् ।
चौदण्डीगढी–९ हँडियाको मुसहर टोलका झण्डै ३५ घर मुसहर बस्तीमा पनि चिसो बढेसँगै ओढ्नेको अभाव हुन थालेको छ । उनीहरू रात्रिका समयमा आगो ताप्ने र घुर तापेर रात कटाउन बाध्य छन् । यस पटक स्थानीय पालिकाहरू र सामाजिक संघसंस्थाले पनि न्यानो कपडा वितरणमा अहिलेसम्म सहयोग नगरेको ती परिवाहरूले गुनासो गरेका छन् ।