
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मतदाता नामावली संकलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् ।
जिल्लामा मंसिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लामा रहेका ८ स्थानीय तहमध्ये पहिलो चरणमा ४ गाउँपालिकाबाट ३ हजार ९०३तथा दोस्रो चरणमा ३ नगरपालिकाबाट ७ हजार ४२२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्ला सदरमुकाम कावासोतीमा भने २ स्थानबाट नियमित नामावली सङ्कलनको काम भइरहेकाले मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिएको थिएन । स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम (घुम्ती टोली) मा नामावली दर्ता गराउनेमध्ये सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा २ हजार ९२३ छन् ।
उनका अनुसार मध्यविन्दु नगरपालिकामा २ हजार ८२२, देवचुली नगरपालिकामा १ हजार ६७७, विनयी त्रिवेणीमा १ हजार ६६२, हुप्सेकोटमा १ हजार १४०, बुलिङटारमा ४४२ र बौदिकाली गाउँपालिकामा ६५९ जनाले नाम दर्ता गराएका छन् ।
१ महिनासम्म सञ्चालित विशेष कार्यक्रमबाट ७ स्थानीय तहका ११ हजार ३२५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा विशेष अभियान सकिएको भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलनको काम जारी रहेको उनले बताए ।
उनका अनुसार जिप्रका गत साउनदेखि मंसिर मसान्तसम्म ४ हजार २६८ जनाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ५३३ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिए ।