
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा एमालेलाई १ सीट पनि जित्न नदिने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी ५ दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं र प्रतिगमनलाई पूरै परास्त गर्छौं । हामी एमालेलाई देशभर एउटा पनि सीट जित्न दिँदैनौं ।’
अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने पनि यादवले बताए ।
उनले भने, ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउने छन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे पनि राखे ।
उनले भने, ‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाइ हुन्छ ।’
पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको उनले सुनाए । उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले २ वटा केन्द्रीय कमिटीको बैठक राख्नुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिस्पर्धा भएको छ । एशियाली मुलुकका लागि मात्रै होइन, संसारकै लोकतान्त्रिक देशलाई चुनौती भएको छ । तपाईंले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो तर नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भयो ।’
पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रूपमा, सबभन्दा बढी अभ्यास गराउने नेतामा गनिएका उनले चित्रण गरे । उनले भने, ‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन ।’
उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको बताए । उनले भने, ‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनित कुनै गुटको होइन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो । वरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पार्टीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’