
नेकपा एमालेको शुक्रवारदेखि देशव्यापीरूपमा एकैसाथ जिल्ला अधिवेशन हुँदैछ । लुम्बिनी प्रदेशमा भने १२ मध्ये १० जिल्लामा मात्र अहिले अधिवेशन उद्घाटनको तयारी भइरहेको छ ।
रुकुमपूर्व हिमाली जिल्ला भएकोले पछि गरिनेछ भने रोल्पामा जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन सरेको एमालेले जनाएको छ ।
अन्य जिल्लाको अधिवेशनका लागि पार्टीका प्रभावशाली नेताहरू जिल्ला–जिल्ला पुगेका छन् ।
रुपन्देहीको जिल्ला अधिवेशनमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल भैरहवा आएका छन् । रुपन्देही पौडेलको गृहजिल्ला पनि हो ।
त्यस्तै उपमहासचिव तथा पूर्व परराष्ट्र प्रदीप ज्ञवाली प्युठान पुगेका छन् । एमाले सचिव गोकर्ण विष्ट गुल्मी पुगेका छन् । उपाध्यक्ष युवराज ज्ञवाली दाङ पुगेका छन् ।

त्यसै गरी पश्चिम नवलपरासीमा एमाले सचिव छविलाल विश्वकर्मा, अर्घाखाँचीमा सचिव टोपबहादुर रायमाझी, बाँकेमा पोलिटब्यूरो सदस्य खेममान खड्का र बर्दियामा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, पाल्पामा पोलिटब्युरो सदस्य दलबहादुर राना, कपिलवस्तुमा पोलिटव्यूरो सदस्य खीमलाल भट्टराई सम्बोधनका लागि पुगेको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले लोकान्तरलाई जानकारी दिए ।
सबै जिल्लामा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरी जुटेको एमाले रुपन्देहीका नेता तेजेन्द्र केसीले बताए । तर, आकांक्षी धेरै भएपछि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न चुनौतीपूर्ण भने छ । पार्टी ठूलो भएकोले आकांक्षी धेरै हुनु स्वभाविक रहेको नेताहरू बताउँछन् ।