
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे ।
६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे ।
‘राष्टिय सभाको निर्वाचन आइरहेको छ, १२ गते मतदान हुन्छ, त्यसको परिणाम प्रतिकूल आउन सक्छ । किनकि आजको जनमत होइन, कुनै यथार्थ जनमत होइन । ४ वर्षअघि ल्याएको जनमतको विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न व्यक्तिलाई व्यवस्थापन गर्न भनेर सीट बाँडेका थियौं । तीनलाई आधार बनाएर, हिजो हाम्रो आधारमा जितेकाहरू नै मतदाता हुँदैछन्,’ ओलीले भने ।
कांग्रेस नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई अपवित्र र प्रतिगामी गठबन्धन भन्दै ओलीले आगामी निर्वाचनमा एक्लाएक्लै लड्न चुनौती दिए । ‘अहिले पनि हामी एक्लै अरूभन्दा माथि छौं, ५० प्रतिशत चाहिने भएकोले नतिजा हाम्रो पक्षमा नआउन सक्छ । सम्पूर्ण शक्ति मिलेकोले हाम्रो लागि प्रतिकूल परिणाम आउन सक्छ । तर यो आजको जनादेश, जनमत र यथार्थ होइन ।’
एमालेलाई संसदीय निर्वाचनमा नोक्सान गर्नेको अन्तिम किस्ता भएको र आगामी निर्वाचनमा एक्लै जित्ने दाबी ओलीले गरे । ‘जनतामा जाँदा उनीहरूसँग त्यो हैसियत रहँदैन । जो जति कमजाेर छ, त्यो बलिया गरी कराइरहेको छ । जो कमजोर छ, उसलाई गठबन्धन चाहिएको छ,’ ओलीले भने, ‘एमाले एक्लै चुनौतीको सामना गर्न तयार छ ।’