
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको आठौं महाधिवेशनबाट पारित ‘समाजवादको नेपाली बाटो’ नामको प्रतिवेदनलाई लफ्फाजीको संज्ञा दिएका छन् । वामपन्थी सरकार ढालेर विरोधी विचारको सरकार बनाउनेले समाजवादको कुरा गर्न नमिल्ने ओलीको टिप्पणी छ ।
६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले माओवादीले कुरो एउटा र काम अर्कै गरेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीविरुद्ध फिँजाइएका भ्रम र अन्योलमा पर्न पनि जरुरी छैन । कुनै कुनै पार्टीका महाधिवेशन देखेका छौं, दुई तिहाइको सरकार गिराउने, अनेक तमासा गरेर सरकार गिराउने । विपक्षीसँग विरोधी विचार र दर्शनसँग मिलेर आफ्नो प्रगतिशील वामपन्थी सरकार ढालेर पाँच दिशातर्फ फर्केको सरकार बनाउने ?,’ ओलीले भने, ‘अनि समाजवादको नेपाली बाटो भनेर लफ्फाजी गर्ने ?’
ओलीले पार्टीका महाधिवेशन नेतृत्व चयनको कर्मकाण्ड भनेर भइरहेको बहसप्रति पनि गुनासो गरे । ‘नेतृत्व चयन भन्दा दुई महिना पहिले हामीले राजनीतिक सिद्धान्त, संगठनलगायत र आर्थिक नीतिको विषयमा पनि छलफल गरेका थियौं । हाम्रा नीतिहरू परिवेशअनुसार विश्वस्तरमै श्रेष्ठताको दाबी गर्छौं । दार्शनिक, सैद्धान्तिक राजनीतिक हिसाबले हाम्रो विचारको श्रेष्ठताको दाबी पुष्टि गर्न तयार छौं,’ ओलीले भने ।
ओलीले जिल्ला अधिवेशनमा सकभर सहमति मै नेतृत्व चयन गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।