१३ असार २०८३, शनिबार

कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।

यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।

तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गरे । उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले सङ्क्रमितको पहिचान गरी आइसोलेशनमा राख्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो सङ्कट व्यहोर्नु पर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पीसीआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपालबाहिरबाट आएका सङ्क्रमितलाई होल्डिङ सेन्टरमा राख्नुपर्ने बताइन्  ।

श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री किसान श्रेष्ठले राजनीतिक दलका आमसभा, भीडभाड हुने कार्यक्रम र सार्वजनिक कार्यक्रम रोक्नुपर्ने बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्