
सुक्खा पहिरोका कारण अवरूद्ध स्याफ्रुबेंसी–रसुवागढी खण्डको राजमार्ग शुक्रवारदेखि पूर्णरूपमा सञ्चालन भएको छ ।
राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् ।
पहिरोले क्षति बनाएको विद्युत् खम्बा तथा तार समेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।
गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिरोले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेट समेतका सेवा २० गतेदेखि अवरूद्ध भएको थियो ।
राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।
ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भीर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेंसी–रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारीसाधन आवतजावत गराउँदा भू–धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।