०५ साउन २०८३, मंगलबार

देउवा र ओलीसहित मुख्य राजनीतिक दलका सबै शीर्ष नेता कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा

देउवा र ओलीसहित मुख्य राजनीतिक दलका सबै शीर्ष नेता कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सबै राजनीतिक दलका शीर्ष नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि एन्टिजेन्ट परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएपछि उनको पीसीआर विधिबाट पनि कोभिड संक्रमण परीक्षण गरिएको प्रचण्डको निजी सचिवालयले बताएको छ । 

दुवै परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि प्रचण्ड आफ्नै निवासमा आइसोलेसनमा बसेर स्वास्थ्योपचार गराइरहेका छन् । 

प्रचण्डलाई कोरोना संक्रमण भएपछि त्यसको प्रभाव सबै मुख्य दलका शीर्ष नेतामा परेको छ । 

गत शुक्रवार प्रधामन्त्रीनिवास बालुवाटारमा सत्तारूढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । 

बैठकमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरू कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका छन् । 

शुक्रवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी नेता दूर्गा पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल सहभागी भएका थिए ।

प्रचण्डलाई कोरोना संक्रमण भएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । उनी २ दिन आइसोलेसनमा बसेपछि स्वास्थ्य परीक्षण गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

उनी आइसोलेसनमा बस्नुअघि शनिवार बिहान प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको थियो । 

देउवा र ओली भेटका कारण कन्ट्याक्ट ट्रेसिङको दायरामा ओली पनि परेका छन् तर ओलीले भने आइसोलेसनमा बस्ने, नबस्नेबारे केही जानकारी सार्वजनिक गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयले शीर्ष नेताहरू कन्ट्याक्ट ट्रेसिङमा पर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘कन्ट्याक्ट ट्रेसिङमा पर्ने नेताहरूले राजनीति भेटघाट बन्द गरेर तत्काल आइसोलेसनमा बस्नुपर्छ । यसलाई बेवास्ता गरेर नियमित राजनीतिक काम जारी राखे कोरोना संक्रमण बढाउन थप मद्दत मिल्ने भएकाले त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको कार्यक्रममा सहभागी हुँदा अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको हुनसक्ने अनुमान प्रचण्डको सचिवालयले गरेको छ ।

महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि प्रचण्डलाई बधाई दिन गएका सबैजसो नेता कार्यकर्तामा कोरोना संक्रमण पुष्टि भएको माओवादी केन्द्रले बताएको छ । 

महाधिवेशनमा सहभागी भएका सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गराउने तयारी पनि माओवादी केन्द्रले गरेको छ । 

पछिल्लो केही दिनयता नेपालमा फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ९ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टिजेन बिधिबाट परीक्षण गर्दा २४८ जनामा कोरोना पुष्टि भएको छ । यसरी एकैदिनमा ९४४ जनामा कोरोना संक्रमण देखिएको हो । 

पछिल्लो समय नेपालमा एकैपटक यतिधेरैमा कोरोना संक्रमण देखिएको यो पहिलो हो । 

salt training

कमेन्ट गर्नुहोस्