
नेकपा एमाले गुल्मीको ११औं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ ।
अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए ।
निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनय दर्ता गरेका छन् भने उपसचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्रा आचार्य र केशवबहादुर चन्दले मनोनयन दर्ता गराएका खनालले जानकारी दिए ।
हालसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुंगो लागेका एमाले नेता ओम कार्कीले जानकारी दिए । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताए ।
११औं जिल्ला अधिवेशनका लागि ७१० प्रतिनिधि रहेका छन् । प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् ।
मौसम प्रतिकूल र नेतृत्व सर्वसम्मत टुंगो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।