
पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोकास्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्वराजाले शालिकमा माल्यार्पण गरेका हुन् ।
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरू विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए ।
राजतन्त्रका समर्थकहरूले गणतन्त्र खारेजीको नारा लगाए । उनीहरूले ‘गणतन्त्र खारेज गर, यो व्यवस्था हामीलाई चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए । ज्ञानेन्द्र शाह आउने बेलामा चन्द्र सूर्य झण्डा बोकेका पूर्वराजाका समर्थकले राजतन्त्र पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले भ्रष्टाचारको विरोध र संघीयता खारेजीको माग पनि गरेका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।


