उत्तर कोरियाले देशका सर्वोच्च नेता किम जोङ उनको निगरानीमा देशले पुनः एकपटक हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जानकारी दिइएको छ ।
उत्तरको सरकारी समाचार संस्था केसीएनएका अनुसार, क्षेप्यास्त्र परीक्षण मंगलवार गरिएको हो । उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर पर सटीक रूपमा आफ्नो लक्ष्यमा खसेको थियो ।
यस हाइपरसोनिक क्षेप्यास्त्रले द्रुत गतिमा मार हान्न सक्ने केसीएनएले लेख्यो ।
उत्तरले तेस्रोपटक यस्तो क्षेप्यास्त्रको परीक्षण गरेको बताएको छ । यो ब्यालिस्टिक क्षेप्यास्त्रको तुलनामा रेडारको नजरमा पर्दैन ।
किमले नयाँ वर्षको अवसरमा सम्बोधन गरेको एक साताभित्र देशले दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको हो ।
आवाजको गतिभन्दा कैयौं गुणा बढी चल्ने क्षेप्यास्त्र चीन र रुसले पनि सफल परीक्षण गरिसकेका छन् । अमेरिकाले पनि यसको परीक्षण गरेको छ । अब त्यसमा उत्तर कोरिया पनि सहभागी भएको छ ।
वायुमण्डलमा हावासँग घर्षणका कारण क्षेप्यास्त्र बेस्सरी तात्छ र तापक्रम कम गर्नका लागि त्यसको गति घटाउनुपर्ने हुन्छ । यस विषयमा हाइपरसोनिक क्षेप्यास्त्र सही छ किनकि यसले वायुमण्डलबाहिर यात्रा गर्छ र त्यहाँ धेरै तातो हुँदैन ।
हाइपरसोनिक प्रविधिको अत्याधुनिक रूप अमेरिका, रुस र चीनसँग छ ।
डा मरिना फवारो ह्याम्बर्ग विश्वविद्यालयको इन्स्टिच्युट फर पीस रिसर्च यान्ड सेक्युरिटीमा रिसर्च फेलो हुन् । संसारका ठूला शक्तिहरू सैन्य प्रविधिको मामिलामा एकअर्काभन्दा अघि रहन चाहेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘क्षेप्यास्त्र जति फास्ट हुन्छ, त्यति नै राम्रो । हतियारले देशको सम्मान पनि बढाउँछ । राम्रो हतियार उपयोग गर्न भन्दा पनि आफू यो हतियार बनाउन सक्षम रहेको सन्देश मुलुकहरूले दिन खोजेका हुन् ।’
अर्थात्, चीनले हालै प्रक्षेपण गरेको हाइपरसोनिक क्षेप्यास्त्र अमेरिकाको बराबर छु भनी देखाउनका लागि हो ।
डा मरिना भन्छिन्, ‘भविष्यमा सम्भावित खतरालाई कम गर्न र आवश्यकता पर्दा जवाफी आक्रमण गर्न हाइपरसोनिक प्रविधिमा काम गरेको अमेरिकाको भनाइ छ । रुस र चीनले यस्तो हतियार बनाइरहँदा अमेरिकाले पनि त्यस्तो हतियार बनाउनु आवश्यक रहेको त्यहाँका कतिपय नेताहरूको भनाइ छ ।
हतियारको दौड भनेकै यही हो । एकले नयाँ प्रविधि ल्याएमा अर्कोले त्यस बराबर वा त्यसभन्दा राम्रो हतियार ल्याउने प्रयास गर्छ । रुस र चीनले हाइपरसोनिकमा काम गरिरहेको भएर अमेरिका पनि यसमा लागिपरेको हो ।’
शीतयुद्धको बेलामा पनि अमेरिका र सोभियत संघले आणविक हतियार बनाएका थिए तर एकअर्काविरुद्ध उपयोग गरेनन् । यस्ता हतियार उपयोग गर्दा यसको भयवाह परिणाम पनि भोग्नुपर्ने हुन्छ । आपसी हानिको यो सिद्धान्तले मुलुकहरूलाई एकअर्कामाथि आक्रमण गर्नबाट रोक्छ र सन्तुलन बनाइराख्न लगाउँछ ।
रुस र चीनले हाइपरसोनिक प्रविधि बनाउनुमा पनि यही कारण छ । युद्धको स्थितिमा अमेरिकाको डिफेन्स सिस्टम परम्परागत क्षेप्यास्त्र आक्रमणलाई रोक्न उनीहरूभन्दा बढी सक्षम रहेको डर उनीहरूलाई छ ।
डा मरिना भन्छिन्, ‘हामीले आसी हानिको सिद्धान्तको कुरा गर्दा रणनीतिक स्थिरताको पनि कुरा आउँछ । अमेरिका चिनियाँ र रुसी क्षेप्यास्त्रको आक्रमणबाट अभेद्य रहेमा यसबाट अमेरिकालाई घाटा नलाग्ने तर चीन र रुसमाथि खतरा कायम रहने अर्थ लाग्छ ।’
तर रुस र चीनले अमेरिकाको मिसाइल डिफेन्स सिस्टमलाई बढाईचढाई मूल्यांकन गरेको हुन सक्ने मरिनाको भनाइ छ । त्यसैले गर्दा पनि चीनले हाइपरसोनिक प्रविधिको प्रदर्शन गरेको हुन सक्छ ।
तर चीनले क्षेप्यास्त्र परीक्षणको धेरै जानकारी दिएको छैन । पुरानो अन्तरिक्षयानलाई पुनः उपयोग गर्न सकिन्छ कि भनी गरिएको परीक्षण भनी उसले दाबी गरेको छ ।
हतियारको यस दौडले संसारलाई थप खतरनाक बनाएको हो ?
आणविक आक्रमणको जोखिम घटाउनका लागि शीतयुद्धको बेलामा अमेरिका र सोभियत संघबीच अनेकौं सम्झौता भएको थियो । तीमध्ये अधिकांश सम्झौता समाप्त भइसकेका छन् । अन्तिम सम्झौताको म्याद सन् २०१६ मा अन्त्य हुनेछ ।
तर चीनले अमेरिकासँग यस विषयमा कुनै सम्झौता गरेको छैन ।
डा क्यामरून ट्रेसी स्ट्यानफोर्ड विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल सेक्युरिटी यान्ड कोअपरेसनमा रिसर्च स्कलर हुन् । हाइपरसोनिक मिसाइल मुलुकहरूबीचको तनावलाई थप बढाउनेछन् ।
उनी भन्छिन्, ‘मुलुकहरू हतियारको दौडमा सहभागी बनेको र उनीहरूबीच भविष्यमा तनाव बढ्न सक्ने संकेत पछिल्ला घटनाक्रमले दिएका छन् । तर हाइपरसोनिक क्षेप्यास्त्र भएकाले सम्भावित संघर्षको खतरा झन् बढेको भन्ने लाग्दैन ।’