२४ जेठ २०८३, आइतबार
सम्पादकीय

जीवन बचाऊ, अर्थतन्त्र जोगाऊ

जीवन बचाऊ, अर्थतन्त्र जोगाऊ

ओमिक्रोन नाम दिइएको कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वभर संक्रमणको तेस्रो लहर शुरू भएको छ । 

संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ ।

कोरोनाको तेस्रो लहर शुरू भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसारको आदेश जारी गरेका छन् । 

कोरोना संक्रमणको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायत विभिन्न सुझाव सरकारलाई दिएको थियो ।

सोहीअनुसार काठमाडौं उपत्यकाका तीन लगायत धेरैजसो जिल्ला प्रशासन कार्यालयले पुस २७ गतेदेखि भीडभाड कम गर्न आदेश जारी गरेका छन् । 

घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक यातायातले सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायत नियम जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

विमानस्थल, पार्क, रंगशाला लगायतका स्थानमा प्रवेश गर्दा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । 

एकातर्फ सबै नागरिकले खोप नपाएको र अर्कातिर सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने कुरा आफैँमा विरोधाभाषपूर्ण छ । 

कोरोना संक्रमणको त्रास बाँकी नै रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको आदेशका धेरैकुरा पालना गर्नुपर्ने किसिमका थिए । 

कोरोना महामारी पूर्ण रूपले नियन्त्रणमा नआउँदै स्वास्थ प्रोटोकलका मापदण्डलाई नजरअन्दाज गर्ने र भीडभाड गर्ने काम रोकिएको थिएन । राजनीतिक दलका सभा सम्मेलन पनि संक्रमण बढ्ने कारक बनेका छन् । 

लापरवाहीकै कारण संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । मंगलवार २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएको थियो । 

संक्रमण बढेकै समयमा राष्ट्रिय एकता दिवसको नाममा मंगलवार नै राप्रपाले पृथ्वीनारायण शाहको सालिक अगाडि भीडभाड जम्मा गरेर संक्रमण फैलिने जोखिम बढायो । 

तराईका जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले राजनीतिक गतिविधि कायम राखेको छ, यस्ता राजनीतिक गतिविधि पूर्ण रूपले रोकिनुपर्छ । 

कोरोना संक्रमण नियन्त्रणको नाममा दुई वर्षयता पटक– पटक गरिएका बन्दाबन्दी (लकडाउन)का कारण देशको अर्थतन्त्र जर्जर बनेको थियो । 

फेरि गरिने लकडाउनले भर्खर लय समात्न थालेको अर्थतन्त्रलाई फेरि नराम्रोसँग आघात पार्नेछ । अहिलेको आवश्यकता मानव जीवनको रक्षासँगै अर्थतन्त्रलाई जोगाउनु हो । 

ओमिक्रोनको संक्रमण दर धेरै भएपनि मृत्युदर कम रहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेका छन्, त्यसैले पनि बजार नै बन्द गर्ने खालको लकडाउन या बन्द गर्न हतारो गर्नु हुन्न । 

संक्रमण फैलिने जोखिम रहेका सार्वजनिक यातायातमा भीडभाड कम गर्न कडाइ गर्ने तथा भीडभाड हुने अन्य क्षेत्रमा प्रशासनको कडा अनुगमन जरुरी छ । 

आदेश जारी गर्ने तर कार्यान्वयन फितलो भयो भने त्यसको अर्थ हुने छैन । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश र स्वास्थ्य मापदण्डको कडाइका साथ अनुगमन र कार्यान्वयनमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ । 

महामारी नियन्त्रण र रोकथाममा आम नागरिकको भूमिका र दायित्व उत्तिकै छ । जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्नु आजको आवश्यकता हो । 

पूर्वतयारी र सावधानीले क्षति कम गर्दै महामारीको सामना गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्