
नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणबारे ज्ञापनपत्र बुझाएकी छन् ।
संसदमा लामो समयदेखि जनसरोकारका विषयमा छलफल हुन नसकेको जनाउँदै भुसालले मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएकी छन् ।
विश्वभर फैलिँदै गइरहेको कोरोना संक्रमणको तेस्रो लहरका रूपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’को फैलावट नेपालमा २–३ हप्ताभित्र नै उच्च संख्यामा बढ्ने आकलन भइरहेको प्ररिपेक्ष्यमा नेत्री भुसालले खतिवडालाई विभिन्न विषयमा गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले ध्यानाकर्षणका विषयहरू महत्त्वपूर्ण र संवेदनशील रहेको भन्दै उठान भएका विषयहरू सम्बोधन गर्ने प्रतिबद्वता जनाएका छन् ।
ध्यानाकर्षणका विषयहरू –
१. परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने ।
२. वृद्धवृद्धा, दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्ने ।
३. नेपालमा तत्काल सबै नागरिकसामु खोप/बुस्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुस्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने ।
४. नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने ।
५. स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा/राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने ।
६. नयाँ भेरियन्ट फैलिन नदिन सिमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने ।
७. कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने/गराउने ।
८. कोरोना भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न/गराउन, कडाइका साथ पहल गर्ने/गराउने ।