१८ असार २०८३, बिहीबार

कोरोनाका बेला भएको चार्टर्ड उडानको छानबिन गर्न मन्त्री आलेले बनाए ‘निर्णायक’ छानबिन समिति

कोरोनाका बेला भएको चार्टर्ड उडानको छानबिन गर्न मन्त्री आलेले बनाए ‘निर्णायक’ छानबिन समिति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् ।

पर्यटनमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समितिको संयोजकमा पर्यटन मन्त्रालयकै सहसचिव होमप्रसाद लुँइटेल छन् । सदस्यमा पर्यटन मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर छन् । 

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने गरी समयसीमा दिएको पर्यटनमन्त्री प्रेम आलेले लोकान्तरलाई बताए । मन्त्री आलेका अनुसार यो निर्णायक समिति हो, यसले दोषीमाथि कारबाही गर्नेछ ।

कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गर्न नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सलाई अनुमति दिएको थियो ।

महामारीमा भएको यस्तो उडानमा निगमले ६५ अनुमति पाउँदा हिमालय एयरलाइन्सलाई झण्डै ४ गुणा बढी अर्थात् २३९ चार्टर्ड फ्लाइट गर्न दिइएको थियो ।

निगमलाई घाटा पार्ने र निजी क्षेत्रका वायुसेवालाई पोस्ने गरी दिइएको यस्तो उडानको विषयमा छानबिन गरेर सत्यतथ्य बुझ्ने र दोषी भेटिए कारवाही पनि गर्ने गरी छानबिन समिति गठन भएको मन्त्री आलेले बताए ।

उनका अनुसार यसअघि बनेको यही प्रकृतिको छानबिन प्रतिवेदनलाई आधार बनाउने र छानबिनबाट जे आउँछ त्यसलाई कार्यान्वयन गर्ने गरी समिति बनेको हो । ‘१० दिनभित्रै आउने प्रतिवेदन थन्काउन होइन, कार्यान्वयन गर्नलाई बनाइएको हो,’ मन्त्री आलेले भने ।

यसअघि असार ७ गते उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा उद्धार उडानमा भएको अनियमितिताको विषयमा छानबिन समिति गठन भएको थियो । समितिले भदौ १६ गते पर्यटन सचिवलाई बुझाएको प्रतिवेदनमा निजी वायुसेवाले तोकेभन्दा बढी भाडा लिएको निष्कर्ष सहितको प्रतिवेदन तयार भएको थियो । प्रतिवेदन सरकारले कार्यान्वयन गरेन । 

उनले अघिल्लो सरकारले महामारीका सामान ओम्नीमार्फत ल्याउँदा निगमले १ करोड ९४ लाख रुपैयाँ नपाएको पनि बताए । यो विषयमा पनि आफूले थप बुझ्ने प्रयास गरिरहेको र निगमले पाउनुपर्ने रकम दिलाउन प्रयास भइरहेको आलेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्