
नेकपा एमालेले आगामी २०७९ जेठ ५ गते अगावै निर्वाचित पदाधिकारीले पदबहाल गर्ने गरी स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।
निर्वाचन आयोगमा शुक्रवार भएको सर्वदलीय बैठकमा एमालेले वैशाख १४ गते चुनाव गर्न आयोगले गरेको प्रस्तावमा समर्थन जनाएको हो ।
एमाले उपमहासचिव विष्णु रिमालले जेठ ५ अगावै निर्वाचित पदाधिकारीले पदबहाल गर्ने गरी चुनाव गर्नुपर्ने पार्टीको अडान राखेका हुन् । अहिलेसम्म चुनावको मिति घोषणा नगरेर सरकार चुपचाप बसेकोले समयमै चुनाव गर्नेमा आफूहरू सशंकित रहेको रिमालले बताए ।
‘निर्वाचनको तयारीका लागि १२० दिन चाहिनेमा अहिलेसम्म मिति घोषणा नभए पनि १०० दिनमा चुनाव गर्न तयार छौं भनेर आयोगले बताएको छ,’ रिमालले भने, ‘निर्वाचित पदाधिकारीले जेठ ५ गते अगावै पदबहाल गर्नुपर्छ भनेर राख्यौँ । एमालेले आयोगको प्रस्तावलाई समर्थन गरेको छ ।’
आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको थियो ।