
प्रदेश नं १ सरकारले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न छलफलको आयोजना गरिएको हो ।
मुख्यमन्त्री राईले कोभड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।
कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा बन्दाबन्दी गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा जोड दिंँदै मुख्यमन्त्री राईले बन्दाबन्दीले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील रहेको बताए।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड सङ्क्रमण विरुद्ध सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे ।
सामाजिक विकास मन्त्री जयराम यादवले रोगको सङ्क्रमण फैलिएको अवस्थामा राजनीतिक दललाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गरे ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा (माओवादी केन्द्र) अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सचिव वासुदेव भट्टराई लगायतले आ–आफ्नो दलका तर्फबाट जनताको स्वास्थ्य सुरक्षा र कोभिड नियन्त्रण र रोकथामका लागि सदैव सहयोग रहेने धारणा राखे ।