१२ असार २०८३, शुक्रबार

त्रियासीको शीतभण्डार सञ्चालनमा

त्रियासीको शीतभण्डार सञ्चालनमा

स्याङ्जाको वालिङ–१ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ ।

केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा शीतभण्डार निर्माण गरी सञ्चालनमा आएको हो ।

आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण शुरू गरेर चालू आर्थिक वर्षमा सम्पन्न गरी गत मंगलवारबाट सञ्चालन गरिएको सहकारीका प्रबन्धक युवराज रेग्मीले बताए ।

कूल ५२ मेट्रिक टन क्षमताको शीत भण्डार ९८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कोभिड–१९ को महामारी र विद्युत्को समस्याका कारणले गर्दा सञ्चालनमा ढिलाइ भएको प्रबन्धक रेग्मीले जानकारी दिए ।

‘तरकारी तथा फलफूल उत्पादनका दृष्टिले त्रियासीसहित आसपासका ठाउँहरू उर्बरायुक्त छ,’ प्रबन्धक रेग्मीले भने, ‘यहाँ मौसमी तथा बेमौसमी कृषिउपज विशेष गरी सुन्तला, आलु, अदुवा भण्डारण गरेर केही समयपछि बिक्री गर्न सकिने भएको छ ।’

शीतभण्डार सञ्चालनका लागि कर्मचारी र प्राविधिकलाई ज्ञान, सीप तथा तालिम दिइएको छ । जिल्लाकै मध्यभाग र त्यसमा पनि बढी विभिन्न कृषिउपज उत्पादन हुने क्षेत्रलाई केन्द्रित गरी सञ्चालनमा आएको शीतभण्डारले आफूजस्ता किसानलाई सहज हुने वालिङ–५ पित्लेकका व्यवसायी कृषक हुमनाथ लामिछानेको भनाइ छ ।

‘विगतका वर्षहरूमा यहाँ उत्पादन भएको आलुको बीउ भैरहवा लगेर राख्नुपरेको थियो,’ लामिछानेले भने, ‘आफ्नै गाउँठाउँ नजिकै भण्डारण गर्ने सुविधा भएपछि खर्चिलो नहुने र सहज हुने विश्वास लिएका छौं ।’

विगतका वर्षहरूमा आलुको बीउ भण्डारणका लागि भैरहवा लैजाँदा ढुवानी खर्चिलो हुने गरेकोमा अब खर्च कम हुने लामिछानेले बताए । सहकारीले स्थापनाकालदेखि नै यहाँका कृषकले उत्पादन गरेका कृषिजन्य उपजको खरिद गरी बिक्रीको व्यवस्था मिलाउँदै आएको छ ।

यहाँका कृषकले उत्पादन गरेका कृषिजन्य उपज पोखरा, बुटवल, भैरहवासहित स्थानीय बजारमा पनि खपत हुने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्