
भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक आरोप–प्रत्यारोप बढेको छ ।
कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरी राजनीतिक गतिविधि गरेको आरोपमा समाजवादी पार्टीका नेता–कार्यकर्तामाथि मुद्दा चलेका बेला हजारौंको भीडमा खिचडी खाएका मुख्यमन्त्री योगी आदित्यनाथमाथि समेत कारवाही हुनुपर्ने माग उठेको छ ।
नेता स्वामीप्रसाद मौर्यले सर्वप्रथम मुख्यमन्त्री योगीलाई कारवाही हुनुपर्ने माग गरे । योगीले शुक्रवार गोरखपुरमा हजारौं व्यक्तिको भीडमा खिचडी खाएका थिए ।
कोरोना महामारीका कारण निर्वाचन आयोगले चुनावी र्याली र कार्यक्रममा रोक लगाएको छ । तर लखनऊमा समाजवादी पार्टी कार्यालयबाहिर नेता–कार्यकर्ताको भीड देखिएको थियो । पार्टी कार्यालयमा भौतिक दूरी सम्बन्धी मापदण्ड उल्लंघन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि समाजवादी पार्टीका २ हजार ५०० नेता–कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरिएको छ ।