
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।
ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन् ।
सोमवार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ईपीएस प्रणाली पास गरेर बसेकाहरूलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए । मन्त्री श्रेष्ठले ईपीएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे ।
‘तपाईंहरूको कारणले गर्दा ईपीएसमा पास भएर बसेका भाइबहिनीहरूको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दबाब आउँदा पनि मैले खोलेको छैन । यो कुरामा तपाईंहरू क्लियर हुनुस्,’ उनले भने, ‘मलाई यति दबाब थियो कि सिजनल वर्कर चाँहि छिटो खोल्नु पर्यो । मैले भने- खोल्ने ओके, नखोल्ने भन्या छैन । सँगसँगै यो सिजनल वर्कर जाँदाखेरि यो ईपीएस पास गरेर बसेका भाइबहिनीहरूको सुन्दर सपनामा कुठाराघात हुन्छ कि भनेर रोकेको छु । हिजो मात्रै पनि मलाई फोन आएको थियो । केही मान्छेहरू सेटिङमा गइसकेका छन् । तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैंनौं । यो कुरामा ढुक्क हुनुस् ।’