
गत बिहीबार आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव आइतबार बिहानसम्म पनि परिवारले बुझेका छैनन् । नेपालीको शव अहिले पनि टिचिङ अस्पतालमा राखिएको छ ।
परिवारले शव नबुझ्दा पोस्टमार्टम पनि हुन सकेको छैन ।
नेपालीलाई शहीद घोषणा गर्नुपर्ने, मोटरसाइकलमा ह्वील लक लगाएर आत्मदाह गर्न बाध्य पार्ने महानगर प्रहरीलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको मागसहित शनिबार राति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वार्ता भएको थियो ।
वार्ता निष्कर्षविहीन भएपछि आइतबार बिहान बस्ने भनिएको वार्ता अहिलेसम्म बसेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सीडीओ कार्यालयमा पुन: वार्तामा बस्ने तयारी छ । ‘हिजोको वार्तामा सहमति नभएपछि आज पुन: वार्तामा बस्ने भनिएको छ, अब केही बेरमा द्विपक्षीय वार्तामा बस्ने तयारी छ,’ उनले लोकान्तरसँग भने ।
वार्तामा पीडित परिवार र प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा निकायका सदस्य सम्मिलित हुनेछन् ।