
कोशी प्रदेश सरकारबारे निर्णय लिन बसेको नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताको निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएको छ ।
कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगको कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेको छ ।
बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको हो ।
‘केन्द्रका नेताले फोन गरेका कारण कुनै निर्णय भएन’, दलका नेता थापाले भने, ‘केन्द्रीय समितिले निर्णय गरेर पठाएपछि हामी फेरि बैठक बसेर निर्णय गर्छौं ।’
यद्यपि, अहिलेलाई एमालेसँगको सहकार्य भने टुंगिएको नेता थापाले बताए । ‘सहकार्य टुटेको छ । अब तीन विकल्पमा हामी छलफलमा छौं’, उनले भने, ‘अझै एमालेसँगको सहकार्य प्रयास गर्ने, नेकपासँग मिल्ने वा विपक्षीमा बस्ने विकल्प हामीसँग छ ।’
संयन्त्रको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति थियो ।
सरकारमा कांग्रेसका तर्फबाट पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।