३० असार २०८३, मंगलबार
अनलाइन स्क्याम

जेलबाट छुटेर २२५ जनाको बैंक खाता रित्याउने ‘डिजिटल चोर’ !

असार २९, २०८३
काठमाडौं

आफूलाई ई–सेवाको कर्मचारीका रूपमा परिचय दिएर सेवाग्रहीको ओटीपी मागी डिजिटल वालेट तथा बैँक खातामा पहुँच पुर्‍याउने एकजना अहिले प्रहरीको साइबर ब्यूरोको हिरासतमा छन्  ।

उनी हुन्, रौतहटको माधवनारायण गाउँपालिका–२ का २४ वर्षीय शुभम साह  ।

साहले बोनस पाइने प्रलोभन देखाउने र त्यसपछि ओटीपी मागेर डिजिटल वालेट तथा बैंक खातामा पहुँच पुर्‍याई लाखौँ रुपैयाँ सेवाग्रहीका खाताबाट स्क्याम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।

साइबर ब्यूरोबाट अनुसन्धान भइरहेका साहमाथि प्रहरीकै अर्को युनिट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान गरिरहेको छ  ।

साहमाथि दुई सय २५ वटा ई–सेवा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याई करिब १३ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ  ।

नेपाल प्रहरीको साइबर ब्यूरोको हिरासतमा रहेका साह कुनै नयाँ आरोपी भने होइनन्  । ब्यूरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीका अनुसार प्रहरी अभिलेख अनुसार उनी यसअघि पनि अनलाइन ठगीका घटनामा पक्राउ परिसकेका व्यक्ति हुन् ।

अनलाइन ठगी कसुरमा १० महिना कैद भुक्तान गरेर २०८० मंसिरमा जेलबाट छुटेका उनी फेरि उही प्रकृतिको अपराधमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा आएका छन् ।

प्रहरीका अनुसार नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला डिजिटल अपराध पनि त्यत्तिकै बढिरहेका छन् ।

पछिल्ला वर्षहरूमा अनलाइन ठगी, फिसिङ, डिजिटल वालेट ह्याकिङ तथा अभौतिक मुद्रासम्बन्धी अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएका छन् । शुभम साहमाथिको अनुसन्धान पनि त्यही चुनौतीको एउटा प्रतिनिधि घटनाका रूपमा हेरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानका क्रममा साहले २२५ वटा ई–सेवा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएको प्रमाण फेला परेको छ । कार्यालयमा दर्ता भएका उजुरीका आधारमा उनले विभिन्न व्यक्तिका खाताबाट करिब १३ लाख रुपैयाँ ठगी गरेको देखिएको छ ।

अनुसन्धानबाट सार्वजनिक भएको विवरणअनुसार साहले आफूलाई विभिन्न डिजिटल वालेट कम्पनीका कर्मचारीका रूपमा चिनाउने गर्थे ।

कहिले ई–सेवाको कर्मचारी त कहिले वालेटको सूचना प्रविधि (आईटी) विभागका कर्मचारी भएको दाबी गर्दै उनी सर्वसाधारणसँग सम्पर्कमा पुग्थे ।

त्यसपछि उनले विभिन्न बहाना बनाएर पीडितलाई विश्वासमा पार्ने गर्थे ।

प्रहरीका अनुसार वालेटलाई बैंक खातासँग लिंक गर्नुपर्ने, ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने, खाता नवीकरण गर्नुपर्ने वा बोनस पाइने जस्ता प्रलोभन देखाएर उनी पीडितसम्म पुग्थे ।

आफू आधिकारिक कर्मचारीसँग कुरा गरिरहेको विश्वासमा परेका सर्वसाधारणले उनीसँग व्यक्तिगत जानकारी आदानप्रदान गर्थे । त्यसपछि उनले ओटीपी अर्थात् ‘वन टाइम पासवर्ड’ माग्ने र त्यसैको आधारमा पीडितको डिजिटल वालेट तथा बैंक खातामा पहुँच बनाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, एउटा उजुरीबाट साहको ठगी शैली खुलासा भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएको उजुरीअनुसार एक व्यक्तिलाई ९८२९४०२०४९ नम्बरबाट फोन आएको थियो ।

फोन गर्ने व्यक्तिले आफूलाई ई–सेवाको कर्मचारी बताउँदै ‘ई–सेवाले बोनस वितरण गरिरहेको छ, आफ्नो ई–सेवामा ५० हजार रुपैयाँ जम्मा गर्नुभयो भने दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ’ भन्दै प्रलोभन दिएका थिए ।

पीडित विश्वासमा परेपछि बोनस प्राप्त गर्ने बहानामा उनीबाट ओटीपी लिइएको थियो । त्यसपछि पीडितको ई–सेवा र बैंक खातामा पहुँच बनाएर सात लाख २७ हजार ३४८ रुपैयाँ निकालिएको अनुसन्धानमा खुलेको छ । रकम हराएपछि मात्रै पीडितले आफू ठगीमा परेको थाहा पाएका थिए ।

अनुसन्धानका क्रममा ठगीको रकम प्रयोग गर्ने तरिका पनि खुलेको थियो  । प्रहरीका अनुसार ठगी गरिएको रकमबाट टिकटकमा बिक्रीका लागि राखिएको एउटा आईफोन–१३ प्रो म्याक्स खरिद गर्ने सहमति गरिएको थियो । मोबाइलको मूल्य एक लाख ९० हजार रुपैयाँ तय गरिएको थियो र त्यो रकम पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा पठाइएको थियो ।

उक्त मोबाइल वीरगञ्जबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको थियो  । त्यति मात्र नभई अन्य व्यक्तिका खातामा रकम पठाएर विभिन्न सामान खरिद गर्नसमेत ठगीको रकम प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।

शुभम साहको नाम प्रहरीका लागि नयाँ होइन । साइबर ब्यूरोले पक्राउ गर्नुअघि उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत पक्राउ गरेको थियो । त्यतिबेला उनी अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी तथा अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । प्रहरीका अनुसार उनी चारवटा अनलाइन ठगीका मुद्दामा फरारसमेत रहेका थिए ।

अनुसन्धानले उनी वान एक्स बेट र क्रिप्टोकरेन्सीमा लगानी गर्ने मुख्य आरोपीमध्ये एक रहेको देखाएको छ । साथै, ठगीबाट आएको रकम टेलिग्राममार्फत विभिन्न व्यक्तिको प्रयोग गरेर क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्ने गरेको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ ।

साइबर ब्यूरोले डिजिटल कारोबार गर्ने सर्वसाधारणलाई ओटीपी, पासवर्ड वा पिन नम्बर कसैसँग पनि साझेदारी नगर्न, अपरिचित नम्बरबाट आएको फोनका आधारमा कुनै पनि व्यक्तिगत वा बैंकिङ विवरण नदिन तथा अपरिचित व्यक्तिले पठाएको लिंकमा क्लिक नगर्न आग्रह गरेको छ । प्रहरीका अनुसार अधिकांश डिजिटल ठगीको शुरूआत एउटा फोन, एउटा लिंक वा एउटा ओटीपीबाट हुने गरेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्