०१ साउन २०८३, शुक्रबार

आवश्यक परे निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालन गर्न सक्छाैंः मेयर शाक्य

आवश्यक परे निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालन गर्न सक्छाैंः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडविरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन् । 

काठमाडौं महानगर वडा-२३ मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उनले यस्तो आग्रह गरेका हुन् । 

‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने,  ‘अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’

उनले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराए । 

‘मैले गृहमन्त्रीज्यूलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उनले भने, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले अघिल्लो पटक निःशुल्क आइसोलेशन र क्वारेन्टिनहरू सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताए । 

‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उनले भने, ‘हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं । हामी पनि तयारी अवस्थामा छौं । आवश्यक परे तुरुन्तै निःशुल्क आइसोलेशन र क्वारेन्टिनहरू सञ्चालन गर्न सक्छौं ।’  

शाक्यले नेपाल मात्रै होइन अहिले विश्व नै कोरोनाको तेस्रो लहरले आक्रान्त बनेको स्मरण गराए । 

उनले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल  गरे पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै लापरवाही गरेको जस्तो देखिएको बताए । 

‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौँ महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौँ भन्ने अपिल गर्न चाहन्छु,’ शाक्यले भने, ‘हामी स्वयंले सावधानी अपनाउने हो भने बढ्दो संक्रमण दरलाई कम गर्न सकिन्छ । हामीले रोग लाग्नु भन्दा पनि रोग नै लाग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।’

विगतको अनुभवले जति बढी लापरबाही भयो त्यति नै बढी मानवीय क्षति भएको देखाएको उनले स्मरण गराए । 

उनले भोलिका दिनमा कुनै पनि आवश्यकता परे काठमाडौं महानगरपालिकाभित्रका अस्पतालहरूसँग सहकार्य गरेर हिजोका दिनमा जस्तै अघि बढ्न महानगरपालिका तयार रहेको पनि बताए । 

‘त्यसका लागि ती अस्पतालका केही आवश्यकता पूरा गर्दै क्षमतावृद्धि गरी कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक–भौतिक सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने,  ‘त्योसँगै त्यहाँ कार्यरत नर्स–डाक्टरहरूको मनोबल बढाउन पनि महानरपालिका तयार छ । त्यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्था छ । महानगरवासीलाई थप केही जटिल भयो भने महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लीनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि अपिल गर्छु ।’

उनले संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि  खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन अपिल गरे ।

salt training

कमेन्ट गर्नुहोस्