
नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोनाको तेस्रो लहरको यो संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले आंँकलन गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेदन पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या १९ हजार बढी हुन सक्ने बताए । मंगलबार मात्रै १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएसँगै स्वास्थ्य मन्त्रालयको आँकलनभन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरूको भनाइ छ ।
कोरोना महामारीको दोस्रो लहरको दाँजोमा अक्सिजन सिलिन्डर प्रदेश १ मा दैनिक कुल ४ हजार ८२, मधेस प्रदेशमा कुल ३ हजार ७ सय ७८, बाग्मती प्रदेशमा कुल १२ हजार ४ सय २४, गण्डकी प्रदेशमा कुल २ हजार १ सय २४, लुम्बिनी प्रदेशमा कुल ४ हजार ३ सय ४०, कर्णाली प्रदेशमा कुल ३ सय १२ र सुदूरपश्चिम प्रदेशमा कुल ४ सय ३६ सिलिन्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर रहेको छ । ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट रहेका छन् । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।