
अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।
एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् ।
रोयटर्स समाचार संस्थाले पाएको पत्रमा विभिन्न यात्रुवाहक र मालवाहक एयरलाइन्सहरूले ५जी सेल टावरबाट आउने सिग्नलहरूले विमानको उडान र सुरक्षा उपकरणमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
अमेरिकाको नागरिक उड्डयन विभागले ५जीका कारण विमानका संवेदनशील उपकरणलाई असर पार्ने र व्यापक बाधाअवरोध गर्ने चेतावनी पहिल्यै दिएको थियो । विशेषगरी खराब मौसममा भिजिबिलिटी कम भएको बेलामा यसले खतरा गराउँछ ।
पत्रमा उल्लेख भएअनुसार, खराब भिजिबिलिटीको दिन ११ सयभन्दा बढी उडान र एक लाख यात्रु ५जी सिग्नलले ल्याउने हस्तक्षेपका कारण उडान रद्दको समस्या भोग्नेछन् ।
देशको सबभन्दा व्यस्त विमानस्थलको दुई माइल क्षेत्रमा एटी यान्ड टी र भेरिजोनले ५जी टावर एक्टिभेट गराउन नहुने एयरलाइन्सका कार्यकारीहरूले बताएका छन् ।
यसैबीच अमेरिकाका विमानस्थलमा ५जी सेवा शुरू गरिएपछि भारतीय उडानहरू पनि प्रभावित भएका छन् । एयर इन्डियाले अमेरिका जाने उडानहरू रद्द गरेको छ ।
विमानको इन्जिन र ब्रेकिङ सिस्टम अवतरण गराउने क्रममा ५जीले अवरोध गर्ने एयरलाइन्स कम्पनीहरूको भनाइ छ । देशभरि ५जी लगाए पनि विमानस्थल नजिक चाहिँ यसलाई लागू गर्न नहुने उनीहरूको भनाइ छ ।