
लुटेरा समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो ।
लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाँका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका चन्द्र यादव, राजजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदासलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
महोत्तरीको भंगाहा नगरपालिका–७ निवासी अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएको नगद ४५ हजार, लत्ताकपडा, मोबाइल सेटसहितका सामान लुटपाट गरिरहेको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । सोही क्रममा सो समूहले प्रहरीमाथि आक्रमण गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।