
एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेको राष्ट्रको सम्बोधन सत्ता गठवन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्ता गठवन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको छ’, उनले भनेका छन्, ‘कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न असफल रहेको रहेको छ ।’
मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्बोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको उनको टिप्पणी छ । यस्तै गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको पनि उनले बताए ।
विगतको सरकारले अघि सारेका कामका परिणामहरूलाई नै आफ्नो सरकारको उपलब्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको उल्लेख गर्दै पोखरेलले गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकेको जिकिर गरे ।
कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको उनको जिकिर छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ, १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील देखिएको छैन’, उनले भने, ‘लाखौँ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रमबाट मौनता साध्ने काम भएको छ ।’
अर्थमन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्न पुगेको उनले बताए ।
कुटनीतिक मामिलामा सरकार असम्वेदनशिल बनेको, कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका लाचार देखिएको, स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नबाट पन्छिएको पनि उनले बताएका छन् ।
कतिपय विभागीय मन्त्रीहरुका गैर कानुनी र आपत्तिजनक अभिव्यक्ति तथा क्रियाकलापलाई नियन्त्रण गर्न समेत देउवा चुकेको उनको दावी छ।