३१ जेठ २०८३, आइतबार

गण्डकी प्रदेशमा ३ हप्तामा २६८ स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशमा ३ हप्तामा २६८ स्वास्थ्यकर्मी संक्रमित

पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी समेत संक्रमित हुने क्रम बढेको छ । 

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा ३ हप्ताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि माघ ७ गतेसम्म गण्डकीका मनाङ बाहेकका जिल्लामा सो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

प्रदेशको राजधानी शहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

उनले भने, ‘पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररूपमा संक्रमित हुने क्रम बढ्दो छ, कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित हुनुभएको छ ।’

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ । 

यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा ३ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जनाइएको छ । हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् ।

निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्