
समुन्द्री सतहदेखि २ हजार १०० मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ ।
घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरूआत हुनुअघिसम्म चहलपहल भइरहे पनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ ।
कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा १० दिनअघिदेखि शुरू भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार यसअघि दैनिक २००–३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०/५० जना मात्र मुस्किलले आउने गरेका छन् ।
कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास सञ्चालकहरू चिन्तित भएका छन् ।
घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेले भने, ‘पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए ।’
कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक ह्वात्तै घटेका उनको भनाइ थियो ।