
कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।
कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।
अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मापदण्ड पूर्ण पालना गर्नुपर्ने समेत सूचनामा जनाइएको छ ।
दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।