
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा तीनवटै तहको निर्वाचन एकै समयमा गर्नेबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफललाई थप व्यवस्थित र विस्तृत बनाउनेबारे छलफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्व स्थायी समिति सदस्यहरूसँग अनौपचारिक छलफल गरेका थिए ।
‘निर्वाचनको बारेमा गठबन्धनमा भइरहेको छलफल ठिक छ । त्यसलाई थप व्यवस्थित र विस्तारित गर्नुपर्छ भन्ने बारेमा छलफल भयो,’ बैठकमा सहभागी नेता देव गुरुङले भने ।
तीनै तहको निर्वाचन एउटै मितिमा गर्दा कम खर्चिलो हुने भएकाले पनि सकेसम्म एकै मितिमा तिनै तहको निर्वाचन गर्नुपर्ने नेताहरूले सुझाव दिएको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी वैशाखमा संसदीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
तर, कानूनी प्रावधान र स्थानीय तहका पदाधिकारीको समयावधि सकिन लागेको कारण वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवाज पनि राजनीतिक वृत्तमा छ ।
तीनै तहको निर्वाचनको विषयमा माओवादी केन्द्रले निर्वाचन आयोग, वुद्धिजीवि र कानून व्यवसायीहरूसँग छलफल गरेर निष्कर्षमा पुग्नेबारेमा पनि छलफल गरेका छन् ।
‘आज अनौपचारिक छलफल मात्रै थियो । निर्णय नै भनेर केही पनि भएको छैन । आज केन्द्रीय कमिटीको बैठक बस्ने भनिएको थियो । कोरोना संक्रमण बढिरहेको कारण त्यो सम्भव भएन । अध्यक्षले अनौपचारिक छलफलका लागि मात्रै बोलाउनुभएको हो,’ गुरुङले भने ।
उक्त छलफलमा अमेरिकी सहयोग एमसीसीको विषयले पनि प्रवेश पाएको थियो । गठबन्धनले बनाएको कार्यदलले दिएको सुझाव अध्ययन गरेर एमसीसीको बारेमा धारणा बनाउन नेताहरू सहमत भएको उनले बताए ।
‘एमसीसीबारे व्यापक चर्चा छ । गठबन्धनले बनाएको कार्यदलले दिएको सुझाव अध्ययन गरेपछि त्यसको बारेमा धारणा बनाउँदा राम्रो हुने भन्ने कुरा आएको छ,’ गुरुङले भने ।
बैठकले अन्य समसामयिक राजनीतिक विषय अध्यक्ष प्रचण्डले सुझाव लिएको उनले बताए ।